
नेपाली नोटमा पृथ्वी नारायण शाहा गौतम बुद्धको फोटो राख्न सुर्य थापाको प्रस्ताव ।


पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्बिर नेपाली नोटमा राख्न सांसद सूर्य थापाको प्रस्ताव
काठमाडौं, जेठ १९ – नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाह र शान्तिका प्रतीक गौतम बुद्धको तस्बिर समावेश गर्न सुझाव दिएका छन्। आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै थापाले राष्ट्रको इतिहास, गौरव र एकताको प्रतीक मानिने व्यक्तित्वलाई नोटमा स्थान दिनुपर्ने तर्क गरे।
बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकको दफाबार छलफलका क्रममा बोल्दै थापाले भने, “पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएको हो। नोटमा उहाँको तस्बिर हुनु भनेको हाम्रो इतिहासको सम्मान गर्नु हो। राष्ट्र बैंक र राष्ट्रकै इज्जत बढाउने काम हो यो।”
थापाले आफू राजावादी नभए पनि इतिहासको सम्मान गर्नुपर्नेमा जोड दिए। “म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ। तर पृथ्वीनारायण शाहलाई सबै नेपालीले सम्मान गर्नुपर्छ। एकीकरणकर्ताको तस्बिर नोटमा छैन भने त्यो अधुरो इतिहास हो,” उनले भने।
उनले नोटमा राखिने तस्बिरहरुले गौरवको अनुभूति दिलाउनुपर्ने भन्दै गौतम बुद्धको तस्बिर पनि नोटमा राखिनुपर्ने बताए। “बुद्ध विश्व चिन्तनका धरोहर हुन्। उहाँको तस्बिरले नेपालको पहिचान झनै मजबुत हुन्छ,” थापाको भनाइ थियो।
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल पनि उपस्थित रहेको उक्त बैठकमा थापाले नोटका डिजाइन र सन्देश राष्ट्रको स्वाभिमानसँग जोडिनुपर्ने बताए। “नोटमा आग्रह र पूर्वाग्रहका पर्खालहरू हटाएर राष्ट्रिय एकता झल्किने चित्रहरू समावेश गरौं,” उनले जोड दिए।
सांसद थापाको यस प्रस्तावले सामाजिक तथा राजनीतिक वृत्तमा नयाँ बहसलाई जन्म दिने देखिएको छ। राष्ट्र बैंकले यसबारे आधिकारिक धारणा भने अझै सार्वजनिक गरेको छैन।