
खतरा नजिकिँदै: ‘सानू भाइ’को धम्कीले सामाजिक अभियानमै आक्रमण।


‘सानू भाइ’को धम्कीले सामाजिक अभियानमै आक्रमण
काठमाडौँ, जेठ २९— सामाजिक अभियन्ता युवराज सफलमाथि ज्यान मार्ने धम्की आएको छ। आफूलाई नेपाली कांग्रेस निकट तरुण दलको नेता बताउने ‘सानू भाइ’ नामक व्यक्तिले टेलिफोनमार्फत सफललाई गोली हान्ने धम्की दिएका हुन्।
उक्त व्यक्ति मूलतः नुवाकोटको ककनी क्षेत्रका बासिन्दा हुन् भने राजधानीको ठमेल क्षेत्र वरपर सक्रिय गुण्डागर्दीमा संलग्न रहेको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो तथा युवराज सफलको दाबी अनुसार, सानू भाइले उनलाई “यदि गृहमन्त्रीमाथि मुद्दा हालिस भने गोली ठोक्छु” भन्ने धम्की दिएका हुन्।
युवराज सफल सामाजिक अभियन्ताका रूपमा विभिन्न सामाजिक र राजनीतिक विकृतिहरूविरुद्ध आवाज उठाउँदै आएका छन्। पछिल्लो समय गृहमन्त्रीको आलोचना गर्दै उनले सार्वजनिक रूपमा मुद्दा दर्ता गर्ने तयारीको संकेत दिएका थिए। त्यसपछि उक्त धम्की आएको हो।
अभियन्ता सफलले आफू र आफ्नो परिवारको सुरक्षामा खतरा उत्पन्न भएको भन्दै सुरक्षानिकायहरूलाई आवश्यक जानकारी गराएको र कानुनी संरक्षणको माग गरेको बताएका छन्। साथै उनले भनाइमा थपे, “राजनीतिक छायाँमा लुकेर अपराधिक धम्की दिनेलाई कानुनी दायरामा ल्याइनुपर्छ।”
यस विषयमा हालसम्म तरुण दल वा नेपाली कांग्रेसको आधिकारिक धारणा सार्वजनिक भएको छैन।