संगीतकार अष्ट लामाको नेतृत्वमा संगीतकार संघ नेपालको नयाँ कार्यसमिति गठन।

0
16

संगीतकार अष्ट लामाको नेतृत्वमा संगीतकार संघ नेपालको नयाँ कार्यसमिति गठन

काठमाडौँ, जेठ २० –
संगीतकार संघ नेपालले आफ्नो १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट संगीतकार अष्ट लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको रूपमा राजेश थापा, प्रथम उपाध्यक्ष शंकर थापा ‘स्माइल’, द्वितीय उपाध्यक्ष राजेन्द्र बजगाईं, महासचिव दिनेश वान्तवा, सचिव दीपक शर्मा, र कोषाध्यक्ष योगेन्द्र उपाध्याय रहेका छन्।

अन्य कार्यसमिति सदस्यहरूमा हरि सायमी, कमलीकान्त भेटवाल, बबिना भट्टराई, तारावीर पाण्डेय, र अर्जुन कौशल चयन भएका छन्।

यस अधिवेशनमा महिला संगीतकारको न्यून प्रतिनिधित्व विशेष गरी चर्चाको विषय बन्यो। १३ सदस्यीय कार्यसमितिमा बबिना भट्टराई एकमात्र महिला सदस्य हुनुका साथै, सम्मेलनमा पनि महिलाको उपस्थिति न्यून देखिएको थियो। यो परिस्थितिले नेपाली संगीत क्षेत्रभित्र महिला सहभागिता अझै न्यून रहेको संकेत गर्छ।

संगीतकार संघ नेपालका संस्थापक अध्यक्ष संगीतरत्न शम्भूजित बासकोटा हुन्। अघिल्ला कार्यकालहरूमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ, र चेतन सापकोटा जस्ता प्रतिष्ठित संगीतकर्मीहरूले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।

नवगठित कार्यसमितिबाट आगामी दिनमा संगीतकर्मीको हकहित, सिर्जनात्मक प्रवर्द्धन र महिला सहभागिता विस्तारतर्फ ठोस कदम चालिने अपेक्षा गरिएको छ।

LEAVE A REPLY