अख्तियारको नजरमा नेकपा एस नेताहरू : ठूला माछा फस्दै कि राजनीतिक खेल?

0
14

अख्तियारको नजरमा नेकपा एस नेताहरू : ठूला माछा फस्दै कि राजनीतिक खेल?

कैलाली, जेठ २२ — सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको अभियोगमा मुद्दा दायर गरेपछि राजनीतिक वृत्तमा व्यापक चासो पैदा भएको छ।

अख्तियारले सार्वजनिक गरेको विवरण अनुसार सोडारीले करिब १ करोड ८ लाख रुपैयाँभन्दा बढीको शंकास्पद सम्पत्ति आर्जन गरेको देखिएको छ। यसअघि, सोही पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत पतञ्जली जग्गा खरिद–बिक्री प्रकरणमा करिब १८ करोड रुपैयाँ भ्रष्टाचारको आरोपमा मुछिएका थिए।

सोडारीको प्रतिक्रिया : न्यायालयप्रति विश्वास
एक सार्वजनिक कार्यक्रममा बोल्दै सोडारीले आफूमाथिको मुद्दालाई पूर्वनियोजित कदमको संज्ञा दिँदै, “न्यायालयबाट न्याय पाउनेमा पूर्ण विश्वास छ,” भने। उनले वर्तमान सरकारलाई ‘दमनकारी’ भन्दै आरोपसमेत लगाए।

पार्टीको धारणा : पूर्वाग्रही हमला
नेकपा एकीकृत समाजवादीको पार्टी बैठकले सोडारी तथा अध्यक्ष नेपालविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोधको निरन्तरता भनेको छ। प्रवक्ता प्रकाश ज्वालाले कानुनी र राजनीतिक रूपमा यसको प्रतिवाद गर्ने बताएका छन्।

सोडारीकी श्रीमती गीता दोषी ठहर
पूर्वमुख्यमन्त्री सोडारीमाथिको मुद्दा सार्वजनिक हुनु अघि नै उनकी पत्नी गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेको पुष्टि भएपछि विशेष अदालतले उनलाई ६ महिना जेल सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। गीता सोडारीले भारतको एक संस्था ‘बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्ली’को नक्कली प्रमाणपत्र प्रयोग गरेकी थिइन्।

राजनीतिक यात्रा र पतन
२०७४ को प्रदेशसभा चुनावमा एमालेबाट विजयी भएका सोडारी पछि समाजवादी पार्टीमा प्रवेश गरेपछि मन्त्री हुँदै मुख्यमन्त्री बनेका थिए। तर, सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीको हैसियतमा रहँदा आर्थिक अनियमितता गरेको आरोपमा अहिले उनी अख्तियारको अनुसन्धानको घेरामा छन्।

प्रदेशसभा सचिवालयका अनुसार, अख्तियारको मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परिसकेका छन्। यसबारे जानकारी प्रदेशसभा बैठकमा सभामुखद्वारा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

LEAVE A REPLY