
डा. सुजन कडरिया अनेरास्ववियु अध्यक्षमा निर्वाचित, सात मतको झिनो अन्तरले जित।


डा. सुजन कडरिया अनेरास्ववियु अध्यक्षमा निर्वाचित, सात मतको झिनो अन्तरले जित
काठमाडौँ, ३१ जेठ २०८२ —
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनले डा. सुजन कडरियालाई अध्यक्षमा निर्वाचित गरेको छ।
कीर्तिपुरमा सम्पन्न महाधिवेशन अन्तर्गत बिहीबार भएको मतदानबाट देशभरिबाट सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गरेका हुन्। अध्यक्ष पदका लागि डा. कडरियाले आफ्ना प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै विजयी भएका हुन्। कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत प्राप्त गरेका थिए।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि कडरियाले “अखिलले अब उमेदवार होइन, भविष्य रोज्नुपर्छ” भन्ने नारा दिएर उम्मेदवारी घोषणा गरेका थिए।
नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भएका छन्। महासचिवमा दीपक धामी निर्वाचित भएका छन्। उपमहासचिव पदमा कमल जोशी चयन भएका छन् भने सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबु खान विजयी भएका छन्।
यस्तै विभिन्न आयोगका अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे र जितप्रसाद सिटौला निर्वाचित भएका छन्।
महाधिवेशनले विद्यार्थी आन्दोलनको भावी दिशानिर्देश तय गर्नुका साथै संगठन सुदृढीकरण र शैक्षिक सुधारका एजेन्डा अघि सार्ने प्रतिबद्धता जनाएको छ।