
“पोखरा जल्यो, न्याय लज्जित भयो: नेकपा (बहुमत)द्वारा मसाल जुलुस”


सरकारलाई झस्काउने चेतावनी! अफताब आलम प्रकरणको विरोधमा पोखरामा मसाल जुलुस – ‘न्याय होइन, अन्यायको संरक्षण बन्द गर’
पोखरा, ३० जेठ —
अखिल (क्रान्तिकारी) ४ नम्बर प्रदेश संयोजक तथा नेकपा (बहुमत) का केन्द्रीय सचिव प्रेम प्रसान्त बोहोरा नेतृत्वमा आज साँझ पोखरामा सरकारलाई चिसो पसिनेगरी मसाल जुलुस निकालिएको छ। न्यायको नाममा अपराधी उन्मुक्ति दिने प्रवृत्तिको डटेर विरोध गर्दै आयोजित सो जुलुसमा क्रान्तिकारी युवा संगठन नेपाल कास्कीका अध्यक्ष सूर्य परियार, नेकपा (बहुमत) पोखरा महानगर इन्चार्ज कमरेड लोकेन्द्र राई, विद्यार्थी संगठनका प्रतिनिधिहरू तथा युवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
जुलुसको मुख्य नाराहरू —
“अलमलाई उन्मुक्ति दिने न्यायाधीश मुर्दावाद!”,
“पक्राउ परेका नेता–कार्यकर्ताहरूको अविलम्ब रिहाइ गर!”,
“भ्रष्टाचार र भ्रष्टाचारी मुर्दावाद!”,
“वैज्ञानिक समाजवाद जिन्दावाद!”,
“नेकपा (बहुमत) जिन्दावाद!” —
सडकभरि गुन्जिएका नाराहरूले पोखराको जाल्पा रोडदेखि पृथ्वी चोकसम्मको वातावरण तातिएको थियो।
प्रदर्शन हालै अफताब आलमलाई सफाइ दिने विवादास्पद फैसलामा संलग्न न्यायाधीशहरूलाई कालोमोसो दलिएको घटनालाई लिएर गिरफ्तार गरिएका नेकपा (बहुमत) का नेता तथा कार्यकर्ताहरूको रिहाइको मागमा केन्द्रित थियो। मसाल जुलुस जाल्पा रोडबाट सुरु भई सभागृह चोक हुँदै पृथ्वी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
नेता बोहोरा नेतृत्वको यो जुलुस केवल एक सांकेतिक आन्दोलन मात्र नभइ सरकार र न्याय प्रणालीलाई जनदबाबको कडा सन्देश हो। कोणसभामा बोल्दै वक्ताहरूले भने,
“जनताको पक्षमा बोल्नेलाई जेल, अपराधीलाई उन्मुक्ति! अबको आन्दोलन निर्णायक हुनेछ।”
सरकार र न्याय प्रणालीप्रति गहिरो असन्तुष्टि प्रकट गर्दै प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् – यदि निर्दोष कार्यकर्ताहरूको अविलम्ब रिहाइ नभए देशभर जनप्रतिक्रिया चर्कनेछ।