
सुन तस्करी प्रकरणमा माओवादी निकट अमला रोक्का पक्राउ, पूर्व नेतृसमेत रहेको खुलासा।


सुन तस्करी प्रकरणमा माओवादी निकट अमला रोक्का पक्राउ, पूर्व नेतृसमेत रहेको खुलासा
काठमाडौं, असार ७
नेपालमा भएको बहुचर्चित ६१ किलो सुन तस्करी प्रकरणमा फरार सूचीमा रहेकी अमला रोक्का आज पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले उनलाई काठमाडौंको टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
अमला रोक्का केवल सामान्य अभियुक्त मात्र होइनन्, उनी सत्तारूढ माओवादी केन्द्र निकट नेतृ रहिएकी पृष्ठभूमि समेत बाहिर आएको छ। रोल्पा स्थायी घर भएकी रोक्का रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्ष समेत रहिसकेकी छन्। लामो समयसम्म उनी माओवादीसँग संगठित रूपमा आबद्ध थिइन्।
यसअघि पक्राउ परिसकेका बेल्जियमका नागरिक दावा छिरिङकी उनी श्रीमती हुन्। दुवै जनामाथि सुन तस्करीको गम्भीर आरोप लागेको छ। छिरिङलाई विदेशी पासपोर्ट प्रयोग गरी नेपालमा शंकास्पद रूपमा आवत–जावत गर्दै ठूलो परिमाणमा सुन ओसारपसारमा संलग्न भएको भन्दै अनुसन्धान थालिएको थियो।
रोक्का र छिरिङको नाममा काठमाडौँको ठमेलस्थित ‘होटेल भियना’ दर्ता गरिएको भेटिएको छ। अनुसन्धानकर्ताहरूको भनाइ अनुसार उक्त होटलमार्फत पनि शंकास्पद गतिविधि सञ्चालन गरिएको आशंका गरिएको छ।
सुन तस्करी प्रकरण सार्वजनिक भएपछि रोक्का फरार थिइन्। उनलाई पक्राउ गर्न इन्टरपोलको सहायतासमेत लिइएको थियो। प्रहरीको भनाइमा, उनले लामो समयदेखि पहिचान लुकाएर बस्दै आएकी थिइन्, तर सटीक सूचनाका आधारमा सीआईबीको टोलीले टोखाबाट उनलाई पक्राउ गर्न सफल भएको हो।
यस घटनाले सत्ता–राजनीतिक पहुँच भएका व्यक्तिहरू समेत सुन तस्करीजस्तो गम्भीर अपराधमा मुछिन सक्ने स्पष्ट संकेत दिएको छ। माओवादी केन्द्रले भने अहिलेसम्म रोक्कासँग आफ्नो कुनै औपचारिक सम्बन्ध नरहेको जनाएको छ, तर उनी लामो समय पार्टी निकट मञ्चको पदमा रहेको प्रमाण सार्वजनिक भइसकेको छ।
प्रहरीले उनलाई आवश्यक बयानका लागि नियन्त्रणमा लिएको छ र अब कानुनी प्रक्रिया अघि बढाइनेछ। रोक्कासँगै थप संलग्नहरूबारे पनि अनुसन्धान तीव्र पारिएको छ।