. “हाम्रो राजा विष्णुको अवतार हो” भन्दै प्रभातलाई फोनमा गाली

0
34

 

राजा बनेको पात्रले कलाकारलाई टार्गेट? धम्की र गालीको बौछार ।

काठमाडौं, असार १२
नेपालको चर्चित हाँस्य रियालिटी शो ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ मा कलाकार प्रभात लामाले पूर्वराजा ज्ञानेन्द्र शाहको पात्र प्रस्तुत गरेपछि विवादको भुमरीमा परेका छन्। कार्यक्रम प्रशारण भएपछि लामाथि सामाजिक सञ्जालदेखि मोबाइल कलमार्फत धम्की, गालीगलौज र जातीय अपमानसम्मका आरोप आइरहेका छन्।

कलाकार लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे खुलासा गर्दै लेखेका छन्, “म गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुँ। राष्ट्रपतिको पनि व्यंग्य गर्छु भने पूर्वराजाको पात्र प्रस्तुत गर्नु गलत कसरी भयो?” उनले व्यंग्यलाई स्वतन्त्र अभिव्यक्तिको रुपमा व्याख्या गर्दै आफ्नो कलात्मक स्वतन्त्रता कुण्ठित नगर्न आग्रह गरेका छन्।

लामाले दाबी गरेअनुसार बिहीबार बिहानै अनजान व्यक्तिले फोन गरी ‘हाम्रो राजा विष्णुको अवतार हो, तँले कसरी आँट गरिस्?’ भन्दै आपत्तिजनक भाषामा गाली गरेको छ। “राजसंस्थालाई सम्मान गर्न सिक्” भन्दै धम्कीपूर्ण शैलीमा कुरा गरिएको उनको भनाइ छ।

प्रभात लामाले आफू कुनै राजसंस्थाविरोधी नभएको बताउँदै भने, “म कलाकार हुँ, राजनीतिज्ञ होइन। व्यंग्य मेरो काम हो, जसमा परिस्थिति, पात्र र प्रवृत्तिलाई देखाउने हो, व्यक्तिलाई होइन।”

यसअघि पूर्वमन्त्री अफताब आलमको जीवनमा आधारित पात्रमार्फत निकै चर्चा कमाएका लामाको यसपटकको प्रस्तुति औसत रहेको कतिपय दर्शकको प्रतिक्रिया छ। तर उनका अनुसार पूर्वराजाको भूमिका उनले गेस्टको रूपमा आएका राजावादी पात्रहरूसँग मिलाएर प्रस्तुत गरेका थिए, जसमा मुख्य उद्देश्य ‘कमेडी मार्फत समाजलाई झल्को दिने’ थियो।

हालैको एपिसोडपछि उनले फेसबुक, म्यासेन्जर र अन्य माध्यमबाट गालीगलौज भरिएका म्यासेजहरू प्राप्त भएको र कतिपयले जातीय आधारमा पनि टिप्पणी गरेका गुनासो गरेका छन्।

कलाको नाममा व्यंग्य, व्यंग्यको नाममा धम्की — यस्तो लोकतन्त्र?

प्रभात लामाको अनुभवले हाम्रा दर्शक र नागरिक कत्तिको व्यंग्य सहन सक्छन् भन्ने गम्भीर बहसको संकेत गरेको छ। कलाकारलाई धम्क्याएर थुनिएको अभिव्यक्ति स्वतन्त्रताको सवाल अब कानुनी र नैतिक दुवै हिसाबले उठ्न थालेको छ

LEAVE A REPLY