साइबर ब्यूरोमा उजुरी दिँदै गायिका एलिना चौहानको कडा चेतावनी: “यो लडाइँ मेरो मात्र होइन”।

0
34

साइबर ब्यूरोमा उजुरी दिँदै गायिका एलिना चौहानको कडा चेतावनी: “यो लडाइँ मेरो मात्र होइन

काठमाडौं, असार १६
लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र अपमानजनक टिप्पणीविरुद्ध साइबर अपराध अनुसन्धान ब्यूरो, काठमाडौंमा उजुरी दर्ता गरेकी छन्। पछिल्लो समय विभिन्न सामाजिक प्लेटफर्ममा आफ्ना बारेमा फैलाइएका अपुष्ट र व्यक्तिगत हमला स्वरूपका सामग्रीबारे कानुनी कारबाहीको माग गर्दै उनले औपचारिक उजुरी दर्ता गराएकी हुन्।

उजुरी दिएपछि सामाजिक सञ्जालमार्फत चौहानले लेखेकी छिन्, “यो लडाइँ मेरो मात्र हैन… चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन।” उनले यस्ता साइबर दुव्र्यवहारको शिकार भएका सबैलाई पनि डर नमान्न र कानुनी सहायता लिन आह्वान गरेकी छन्।

चौहानले थप लेखेकी छिन्, “म मौन बस्ने पक्षमा छैन। सत्यको पक्षमा बोल्नु मेरो कर्तव्य हो। सामाजिक सञ्जाललाई नकारात्मक हतियार बनाउनेहरूप्रति अब कानुनले जवाफ दिनुपर्छ।”

साइबर ब्यूरोले उजुरी प्राप्त भएसँगै प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। ब्यूरोका अनुसार चौहानमाथि सामाजिक सञ्जालमा गरिएका अभद्र टिप्पणी, गालीगलौज, र चरित्र हत्या प्रयासलाई गम्भीरताका साथ हेरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

साइबर ब्यूरो स्रोतले जानकारी दिएको छ कि दोषी प्रमाणित हुनेहरूलाई विद्यमान साइबर अपराध ऐनअनुसार कडा कारबाही गरिनेछ।

गायिका एलिना चौहान पछिल्लो समय नेपाली संगीत क्षेत्रमा सबैभन्दा व्यस्त र चर्चित कलाकारमध्ये एक हुन्। ‘फूलको आँखामा’, ‘सिंदूर’, ‘माया गरिराख’, जस्ता गीतमा उनको स्वर अत्यन्त लोकप्रिय छ। उनको गीत TikTok लगायत सामाजिक सञ्जालमा ट्रेन्डिङमा आउने गरेका छन्।

यो घटनाले केवल एलिना चौहानको व्यक्तिगत मुद्दा मात्र नभई, सार्वजनिक व्यक्तित्वमाथि भइरहेको साइबर दुव्र्यवहार र कानुनी संरचनाको प्रश्नसमेत उठाएको छ। चौहानको पहलले अब यस्ता मुद्दामा अन्य पीडितले पनि स्वर उठाउने आशा गरिएको छ।

 

LEAVE A REPLY