


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा आफ्नो माग यथावत राख्दै संसदमा जारी प्रतिरोध कायमै राख्ने जनाएको छ । उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्रीको राजीनामाको माग यथावत रहेको प्रष्ट पार्दै रास्वपाले संसदमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको हो ।
बिहीबार बसेको रास्वपा सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडानबारे छलफल गरियो र पार्टीको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने ।’
यसैगरी, रास्वपाले निजामती विधेयकमा कुलिङ पिरियडमा भएको बदमासी संसद्को सार्वभौमिकतामाथि प्रहार भएको जनाएको छ । यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपापले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।
‘कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अनदेखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दछ । संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ निर्णयमा भनिएको छ ।










