
बालाजु प्रहरी प्रमुखको कडा अभियान: युवक अवैध हतियारसहित पक्राउ।


काठमाडौं, साउन ३१ – प्रहरी वृत्त बालाजुका प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले धादिङका एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति धादिङ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६, चमतीमा बस्दै आएका २९ वर्षीय शिवराज दराइ हुन्। साउन २९ गते राति करिब १०ः४५ बजे टोखा नगरपालिका–९ स्थित होटलमा बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दराइको डेरामा गरिएको खोजतलासका क्रममा ७.६५ मिलिमिटरको अटोमेटिक पेस्तोल १ थान र ७ राउण्ड गोली बरामद भएको छ। बरामद हतियारसहित उनलाई प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान जारी रहेको छ।
प्रहरीका अनुसार दराइविरुद्ध यसअघि २०७८/६/१८ गते अभद्र मुद्दा र २०८०/७/१९ लागू औषध मुद्दा समेत चलेको देखिएको छ।