
काठमाडौंमा कबाड व्यवसायीको प्रदर्शन, “संवैधानिक हक हनन” को आरोप।


काठमाडौंमा कबाड व्यवसायीको प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो गतिविधिप्रति आक्रोश व्यक्त गर्दै कबाड व्यवसायीहरुले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले महानगरपालिकाले कानूनी व्यवस्था र संवैधानिक अधिकारलाई तोडमोड गर्दै आफूहरुको व्यवसायमा जबर्जस्ती हस्तक्षेप गरेको दाबी गरेका छन्।
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वतन्त्र रुपमा व्यापार–व्यवसाय गर्ने हक सुनिश्चित गरेको छ। तर महानगरले पछिल्लो समय कबाड संकलन तथा बिक्री गर्ने व्यवसायीमाथि छापा मार्ने, पसल तोडफोड गर्ने र धम्की दिने जस्ता गतिविधि गरेको व्यवसायीहरुको आरोप छ। उनीहरुको भनाइमा यस्तो कदम केवल व्यक्तिगत उद्यमशीलता मात्र होइन, हजारौं नागरिकको रोजगारीसँग प्रत्यक्ष सम्बन्धित व्यवसायलाई संकटतर्फ धकेल्ने काम हो।
व्यवसायीहरुले महानगरको क्रियाकलापलाई ‘कानूनी शासनको उपहास’ भन्दै आपत्ति जनाएका छन्। उनीहरुले महानगरले व्यवस्थित नीति र स्पष्ट नियम बनाएर व्यवसायलाई मर्यादित बनाउने सट्टा “लुटपाट, छिनछोर, तोडफोड र कुटपिटसम्मका गतिविधि गराउने” आरोप लगाएका छन्।
“हामी कुनै अवैध काममा छैनौं, कबाड व्यवसाय वर्षौंदेखि लाखौं नागरिकको रोजीरोटीसँग जोडिएको क्षेत्र हो। यसलाई सुरक्षित र व्यवस्थित गर्नुपर्नेमा उल्टै अपराधजन्य शैलीमा नियन्त्रण गर्न खोजिँदैछ,” प्रदर्शनमा सहभागी व्यवसायीहरुले भने गृह प्रशासनलाई ध्यानाकर्षण
प्रदर्शनकारीहरुले गृह प्रशासनको समेत गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरुले जोसुकैले कानून विपरीत कार्य गरे पनि तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। विशेषगरी महानगरको तर्फबाट भएको तोडफोड र कुटपिटजस्ता घटनालाई अपराधका रुपमा लिई निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयसँग आग्रह गरिएको छ।
कबाड व्यवसायीहरुले आफ्नो माग बेवास्ता गरिए थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्। उनीहरुले सरकार र सम्बन्धित निकायलाई व्यापार–व्यवसाय गर्न पाउने संवैधानिक हक सम्मान गर्न, सुरक्षाको ग्यारेन्टी गर्न र व्यवस्थित प्रणालीमार्फत कबाड संकलन तथा पुनः प्रयोगलाई प्रोत्साहन दिन आग्रह गरेका छन्।
“हामीलाई व्यवसायमै बस्न नदिने हो भने हजारौं परिवारको पेटमा लात हानिएको हुन्छ। त्यसैले सरकार र प्रशासनले तत्काल समाधान खोज्नुपर्छ, अन्यथा ठूलो आन्दोलन अपरिहार्य हुनेछ,” एक व्यवसायीले चेतावनी दिए।
विशेषज्ञहरुका अनुसार कबाड व्यवसाय केवल आम्दानीको स्रोत मात्र नभई वातावरणीय दृष्टिले पनि महत्त्वपूर्ण छ।