
ईम्बोस्ड नम्बर प्लेटमा कमिसनको खेल भएको भन्दै, नेकपा (बहुमतको )विरोध प्रदर्शन।


ईम्बोस्ड नम्बर प्लेटमा कमिसनको खेल भएको आरोप, नेकपा( बहुमतको) विरोध प्रदर्शन ।
काठमाडौं, २०८२ भदौ १३ गते।
ईम्बोस्ड नम्बर प्लेटको नाममा ठूलो कमिसनको खेल भएको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताले आज काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागअगाडि विरोध प्रदर्शन गरेका छन्।
विरोधमा उत्रिएका कार्यकर्ताले सरकारले ल्याउन खोजेको नम्बर प्लेट सम्बन्धी नयाँ नियमलाई जनघाती तथा राष्ट्रघाती कदम भन्दै खारेजीको माग गरेका छन्। उनीहरूले ब्यानर, प्लेकार्ड र पम्प्लेटसहित सडकमा उत्रिएर “ईम्बोस्ड नम्बर प्लेट खारेज गर”, “जनता माथि कमिसनको बोझ नथोपार”, “राष्ट्रघाती निर्णय बन्द गर” जस्ता नाराबाजी गरेका थिए।
कार्यकर्ताहरूले सरकारले विदेशी कम्पनीको स्वार्थमा परेर आमजनतालाई आर्थिक बोझमा पार्न खोजेको भन्दै कडा आलोचना गरेका छन्। उनीहरूको भनाइमा, सामान्य नेपाली जनतालाई महँगो शुल्क तिरेर जबर्जस्ती नयाँ नम्बर प्लेट लिन बाध्य पार्नु पूर्ण रूपमा गलत कदम हो।
विरोध प्रदर्शनमा सहभागी नेताहरूले सरकारले जनता प्रतिको उत्तरदायित्व बिर्सेर दलाल–कमिसनखोरको हितमा मात्र काम गरिरहेको आरोप पनि लगाए। उनीहरूले यो निर्णय तत्काल फिर्ता नलिए थप कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।
यसरी नेकपा कार्यकर्ताले आज देखाएको विरोधले ईम्बोस्ड नम्बर प्लेटबारे सरकारले ल्याएको नीति अझ विवादित बनेको छ।
✍️ समाचारदाता: नगरबिकास डटकम