
साम्राज्यवादी हस्तक्षेपविरुद्ध एमाले र हामी एउटै मोर्चामा छौँ : विप्लव


काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिबन्ध र दमनका बाबजुद राष्ट्रिय स्वाधीनताको सवालमा नेकपा एमाले र आफूहरू एउटै मोर्चामा रहेको स्पष्ट गर्नुभएको छ। उहाँले वर्तमान सरकार अवैधानिक भएकाले त्यसलाई समर्थन गर्न नसकिने बताउँदै मुलुकको राजनीतिक निकासका लागि तत्काल सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो।
शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दलविनाको समृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो। “दल छन्, देश छ, नेताहरू पनि छन्, तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने गम्भीर प्रश्न उठेको छ,” भन्दै उहाँले वर्तमान परिस्थिति जटिल र संवेदनशील बनेको धारणा राख्नुभयो।
महासचिव चन्दले अहिलेको सरकारलाई “अँध्यारो कुनाबाट बनेको अवैध सरकार” को संज्ञा दिँदै राजनीतिक दलहरूले नै सरकारको नेतृत्व लिएर मात्र निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन गराउन सकिने बताउनुभयो। उहाँका अनुसार दलहरूको साझा सहभागिताबिना निर्वाचन प्रक्रिया नै विश्वासयोग्य बन्न नसक्ने खतरा बढ्दै गएको छ।
कार्यक्रममा बोल्दै उहाँले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा लिएको अडानकै कारण देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको निशानामा परेको दाबी गर्नुभयो। “कतिपय विषयमा कमजोरी हुन सक्छन्, तर राष्ट्रियताको सवालमा एमालेमाथि साम्राज्यवादी षड्यन्त्र भइरहेको छ,” उहाँको भनाइ थियो। अहिले संसारले एमालेको महाधिवेशनलाई चासोका साथ हेरिरहेको उल्लेख गर्दै उहाँले यसले देशलाई सङ्कटबाट निकास दिन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर दिन सफल भएको टिप्पणी गर्नुभयो।
महासचिव विप्लवले राजनीतिक दलहरूले लामो समयदेखि संघर्ष गरे पनि जनताका अपेक्षा अझै अधुरा रहेको स्वीकार गर्नुभयो। विश्वव्यापी राजनीतिक तरलतालाई प्रयोग गर्दै साम्राज्यवादी तत्त्वहरूले नेपालजस्ता देशका प्राकृतिक स्रोत–साधन दोहन गर्न कठपुतली शासन लाद्ने प्रयास गरिरहेको आरोप लगाउँदै उहाँले यस्ता षड्यन्त्रविरुद्ध सबै देशभक्त शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
अन्त्यमा महासचिव चन्दले राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्न सबै राजनीतिक शक्तिहरू एउटै मोर्चामा उभिनुपर्ने आवश्यकता औँल्याउँदै सर्वपक्षीय सरकारमार्फत मात्रै वर्तमान राजनीतिक गतिरोधको दिगो निकास सम्भव हुने निष्कर्ष निकाल्नुभयो।











