
सक्षम र दूरदर्शी नेतृत्वबिना नुवाकोटको समृद्धि सम्भव छैन : राजन गौतम नकुल


नुवाकोट — सुन्दर र समृद्ध नुवाकोट निर्माणका लागि जिल्लामा उपलब्ध प्राकृतिक स्रोत र मानवीय श्रमको अधिकतम तथा सही सदुपयोग गर्न सक्ने सक्षम, दूरदर्शी र जिम्मेवार नेतृत्व आजको अपरिहार्य आवश्यकता भएको युवा नेता राजन गौतम नकुलले बताएका छन्।
जिल्लाको समग्र विकासबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान नेतृत्व र विकास प्रक्रियाप्रति कडा टिप्पणी गरेका छन्। उनले नुवाकोटजस्तो अपार सम्भावना बोकेको जिल्लामा अझै पनि बेरोजगारी, युवा पलायन, अव्यवस्थित पूर्वाधार र योजनाविहीन विकास कायम रहनु गम्भीर चिन्ताको विषय भएको बताए। “हामीले पटक–पटक विश्वास गर्यौँ, तर परिणाम सधैँ निराशाजनक भयो,” भन्दै उनले असन्तुष्टि पोखे। विकासका नाममा गरिएको राजनीति जनमुखीभन्दा पनि स्वार्थकेन्द्रित बन्दै गएको उनको आरोप छ।
नकुलका अनुसार नुवाकोटसँग जलस्रोत, वन, कृषि भूमि, पर्यटन सम्भावना र मेहनती युवा शक्ति प्रशस्त छ। तर ती स्रोतको दीर्घकालीन सोचसहित सही व्यवस्थापन र सदुपयोग हुन नसक्दा जिल्ला पछाडि परेको छ। “समस्या स्रोतको अभाव होइन, सोच र नेतृत्वको अभाव हो,” भन्दै उनले स्पष्ट जिकिर गरे।
उनले परिणाममुखी योजना, पारदर्शी कार्यशैली र जवाफदेही नेतृत्वबिना जिल्लाको मुहार फेरिन नसक्ने उल्लेख गरे। साथै, विकास प्रक्रियामा स्थानीयको सहभागिता र युवाको नेतृत्वदायी भूमिकालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्।
अब नुवाकोटलाई केवल भाषण र नाराले होइन, स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व र व्यवहारिक कार्ययोजनाबाट अघि बढाउनुपर्ने समय आएको भन्दै नकुलले जनताको विश्वास जित्ने नयाँ नेतृत्वको आवश्यकता औँल्याएका छन्। उनका अनुसार, यही आधारमा मात्र नुवाकोटलाई सुन्दर, समृद्ध र आत्मनिर्भर जिल्लाको रूपमा विकास गर्न सकिनेछ।











