पुराना अनुहार र पुरातन सोचले देशलाई संकटमा धकेल्यो : राजन गौतम

0
12

नुवाकोट । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति अध्यक्ष मण्डलका अध्यक्ष राजन गौतम (नकुल) ले देशको वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट पार्नु भएको, असफल नेतृत्वप्रति कडा आक्रोश पोख्नु भएको र जिम्मेवार पक्षलाई चेतावनी दिनु भएको छ।

उहाँले पटक–पटक व्यवस्था परिवर्तन भए पनि सोच, विचार र व्यवहार नबदलिँदा लोकतन्त्र गम्भीर संकटतर्फ धकेलिएको स्मरण गराउँदै अब निर्णायक परिवर्तनको समय आएको जोड दिनु भएको हो।

राजन गौतमले पञ्चायतदेखि बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगे पनि सत्ताकेन्द्रित राजनीति, गुटबन्दी र अवसरवाद नहटेको जिकिर गर्नु भयो। “व्यवस्था फेरियो, तर शासन चलाउने मानसिकता फेरिएन,” भन्दै उहाँले यही कमजोरी आजको राजनीतिक अस्थिरता, अविश्वास र सुशासनको अभावको मूल कारण बनेको स्पष्ट पार्नु भयो।
उहाँले विगत दशकौँदेखि सत्ता सीमित नेताहरूबीच घुमिरहँदा जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएको स्मरण गराउँदै, भाषण र नाटकले होइन परिणामले जनताको विश्वास जित्नुपर्ने जोड दिनु भयो। संसद् अवरोध, संवैधानिक विवाद र सत्ताका लागि हुने खिचातानीलाई पुरातन सोचको उपज बताउँदै, यसबाट ननिस्किए लोकतन्त्र थप कमजोर हुने चेतावनी दिनु भयो।

नुवाकोटसहित देशभर ठूला विकास आयोजना अघि नबढ्नुमा कमजोर नेतृत्व, राजनीतिक अस्थिरता, समन्वयको अभाव र दीर्घकालीन योजना नहुनु मुख्य कारण रहेको उहाँको जिकिर छ। “जनतालाई आश्वासन होइन, ठोस काम चाहिएको छ,” भन्दै उहाँले जनउत्तरदायित्वबाट भाग्ने प्रवृत्तिविरुद्ध कडा आक्रोश पोख्नु भयो।

अन्त्यमा राजन गौतमले पुराना सोच, विचार र व्यवहार तोड्न सक्ने युगअनुकूल सक्षम नेतृत्व आजको अपरिहार्य आवश्यकता भएको स्पष्ट पार्दै, आत्मसमीक्षा र जवाफदेहिताविना देश संकटबाट ननिस्कने जोड दिनु भयो।

LEAVE A REPLY