
फागुन २१ को चुनावी अभियानलाई लिएर सचेत नागरिकको अभियान सक्रिय


फागुन २१ को चुनावी अभियानलाई लिएर सचेत नागरिकको अभियान सक्रिय
नुवाकोट ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सचेत नागरिकको अभियानले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ।
अभियनका अध्यक्ष रामेश्वर भण्डारी र अभियान्ता राजु राइबीच सोमबार एक स्थानीय क्याफेमा समसामयिक छलफल भएको छ।
भेटका क्रममा उनीहरूबीच चुनावी अभियानको दिशा, नागरिक सहभागिता, मतदाता सचेतना र लोकतान्त्रिक मूल्यको संरक्षणबारे गहन विचार–विमर्श गरिएको हो।
शो महत्त्वपूर्ण भेटमा अध्यक्ष भण्डारीले फागुन २१ को निर्वाचनलाई केवल औपचारिक प्रक्रिया मात्र नभई नागरिक चेतनाको महत्वपूर्ण परीक्षा भएको बताए। उनले निष्पक्ष, स्वतन्त्र र डरमुक्त वातावरणमा मतदान सुनिश्चित गर्न नागरिकस्तरबाट दबाब र निगरानी आवश्यक रहेको उल्लेख गरे। सचेत नागरिकको अभियानमार्फत चुनावी अवधिभर गलत सूचना, भ्रम र नकारात्मक प्रचारविरुद्ध सचेतना फैलाइने उनको भनाइ थियो।
अभियान्ता राजु राइले निर्वाचनको सफलताका लागि युवाको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। उनले सामाजिक सञ्जाल तथा स्थानीय तहमा भइरहेका गलत प्रचारप्रसार र अफवाहले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै सचेत नागरिकको अभियानले यस्ता गतिविधिको निगरानी गर्ने स्पष्ट पारे। साथै, मतदातालाई नीति, कार्यक्रम र उम्मेदवारको आचरणका आधारमा निर्णय लिन प्रेरित गरिने बताए।
छलफलका क्रममा उनीहरूले आगामी दिनमा टोल–टोलमा अन्तरक्रिया, नागरिक संवाद, मतदाता शिक्षा कार्यक्रम तथा सार्वजनिक छलफल आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्। यस अभियानमार्फत नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न प्रेरित गर्नुका साथै जिम्मेवार नेतृत्व चयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सचेत नागरिकको अभियानले फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र अर्थपूर्ण बनाउन नागरिकस्तरबाट निरन्तर पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।











