पन्चायती सोचबाट मुक्त नुवाकोटका लागि परिणाममुखी नेतृत्वको माग – राजन गौतम

0
17

नुवाकोट । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का बागमती प्रदेश अध्यक्ष राजन गौतमले नुवाकोटको समग्र विकासका लागि पञ्चायती सोचबाट मुक्त, लोकतान्त्रिक मूल्यमा दृढ र वर्तमानका समस्या बुझ्दै भविष्यका सम्भावना देख्न सक्ने दूरदृष्टि भएका नेतृत्वको आवश्यकता रहेको माग गरेका छन्।

काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले नुवाकोट अब पुरानो राजनीतिक सोच र व्यक्तिपूजाको घेराभित्र सीमित रहन नसक्ने स्पष्ट पारेका छन्। उनले जनताको दैनिक जीवनसँग जोडिएका समस्या बुझ्ने, समाधानका लागि मैदानमै उत्रिने र परिणाम दिन सक्ने नेतृत्व नै आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै यस्तो नेतृत्वको खोजी स्थानीयस्तरबाट तीव्र बन्दै गएको बताएका छन्।

लोकतन्त्रको मर्म जनउत्तरदायित्व र जवाफदेहितामा आधारित हुने धारणा राख्दै उनले अझै पनि जयजयकार, खादामाला र नारामा सीमित राजनीति हावी रहेकोप्रति ध्यानाकर्षण गराएका छन्। “देश र जनताले अब भाषण होइन, काम गर्ने नेतृत्व चाहेका छन्,” उनले स्मरण गराएका हुन् ।

अध्यक्ष गौतमका अनुसार योजनामुखी विकास, समावेशी निर्णय प्रक्रिया र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग बिना नुवाकोटको दीगो विकास सम्भव छैन। त्यसका लागि राजनीतिक नेतृत्व जनतासँग प्रत्यक्ष संवादमा रहनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले आलोचना र सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्ने संस्कार विकास गर्नुपर्ने बताए।

युवा पुस्ताको भूमिकाबारे बोल्दै उनले अनुभव बोकेका अग्रजहरूको सम्मान गर्दै नवीन सोच, ऊर्जा र क्षमतायुक्त युवालाई नेतृत्वमा अघि बढाउने समय आएको धारणा व्यक्त गरेका छन्। अनुभव र नवप्रवर्तनको संयोजनबाट मात्र नुवाकोटको भविष्य सुरक्षित र समृद्ध बन्न सक्ने उनको भनाइ छ।

अध्यक्ष गौतमको यो अभिव्यक्तिसँगै नुवाकोटमा लोकतान्त्रिक, उत्तरदायी र परिणाममुखी नेतृत्वको माग थप सशक्त बन्दै गएको देखिन्छ।

LEAVE A REPLY