
इमानदार नेतृत्व नभए नुवाकोट खोक्रो बन्छ : बागमती प्रदेश अध्यक्ष गौतम


काठमाडौँ, पुस ११, २०८२ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का बागमती प्रदेश अध्यक्ष राजन गौतम (नकुल) ले नुवाकोटको दिगो समृद्धि स्थानीय स्रोत–साधनको उत्पादनमुखी सदुपयोग र जनमुखी, इमानदार तथा दृढ नेतृत्वबिना असम्भव रहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गौतमले अहिलेका भ्रष्ट नेताहरूले स्रोतको दुरुपयोग गरेर आफ्नो मात्र घर भरेको आरोप लगाउँदै वर्तमान नेतृत्वप्रति आगो ओकलेका हुन् “समृद्ध नुवाकोट निर्माणका दुई आधार—स्थानीय स्रोत–साधनको उत्पादनमुखी सदुपयोग र जनमुखी, इमानदार तथा दृढ नेतृत्व । यी आधारमा टेकेर मात्र नुवाकोटको दिगो समृद्धि सम्भव छ,” गौतमले भने, “अहिलेका नेताहरूले जनताको स्रोत लुटेर आफ्नो स्वार्थ मात्र साँधिरहेका छन् ।
इमानदार नेतृत्व नआएसम्म नुवाकोट यो दयनीय अवस्थाबाट माथि उठ्न सक्दैन ।”
नुवाकोट जल, जंगल, जडीबुटी र पर्यटनले भरिपूर्ण जिल्ला हो । त्रिशूली–तादी नदीबाट जलविद्युत् उत्पादनको अपार सम्भावना छ, तर ठूला परियोजनाहरू वर्षौँदेखि अलपत्र छन् । कृषियोग्य भूमिमा आलु, तरकारी, दूध र जडीबुटीको उत्पादन बढाएर निर्यात गर्न सकिने अवस्था हुँदाहुँदै किसानहरू ऋणको बोझमा डुबेका छन् । नुवाकोट दरबार, भैरवी मन्दिर, सिन्दुरे जात्राजस्ता ऐतिहासिक–धार्मिक स्थलहरूले लाखौँ पर्यटक भित्र्याउन सक्छन्, तर सडक, होटल र पूर्वाधारको अभावले सबै ओझेलमा परेको छ ।
“युवाहरू रोजगारी नपाएर विदेश भासिइरहेका छन् । यो सब नेतृत्वको ठूलो अपराध हो,” गौतमको कडा प्रहार छ । उनले इमानदार नेतृत्वको अभावमा भ्रष्टाचार, कमिसनखोरी र परिवारवाद हावी भएको बताए । “चुनाव जित्न मात्र लागिपरेका नेताहरूले नुवाकोटलाई खोक्रो बनाएका छन् । जनताले अब इमानदार विकल्पको खोजी गरिरहेका छन्,” उनले थपे ।
बागमती प्रदेश अध्यक्ष गौतमले प्रलोपाको भ्रष्टाचारविरुद्धको अभियानलाई नुवाकोटमा तीव्र पार्ने घोषणा गरेका छन् । “हामी जनताको पक्षमा उभिएर इमानदार नेतृत्वको नमुना बन्नेछौँ,” उनको चुनौतीपूर्ण दाबी छ ।











