
रास्वपा—नयाँ राजनीतिक संस्कृति कि पुरानै खेलको नयाँ प्याकेज


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची सार्वजनिक भएपछि पार्टीले वर्षौंदेखि बोकेको ‘गैरराजनीतिक अनुहार’ र ‘नयाँ वैकल्पिक शक्ति’ को छविमा गम्भीर धक्का लागेको छ ।
सूचीमा समावेश अधिकांश व्यक्तिहरूको विगतको राजनीतिक संलग्नता बाहिर आएसँगै रास्वपाको मूल ब्रान्डिङ नै संकटमा परेको विश्लेषकहरू बताउँछन् ।
पार्टीले बारम्बार ‘पुराना दल र राजनीतिक पृष्ठभूमिका नेताबाट टाढा रहेका सक्षम तथा नयाँ नागरिक’ लाई नै अगाडि सार्ने दाबी गर्दै आएको थियो । तर बन्दसूची हेर्दा धेरैजसो नामहरू विभिन्न राजनीतिक आन्दोलन, वैचारिक अभियान, सत्ताविरोधी गतिविधि वा दलनिकट काममा लामो समयदेखि जोडिएका व्यक्तिका छन् । यसले गर्दा पार्टीले प्रचारमा जोड दिएको ‘गैरराजनीतिक पृष्ठभूमिका ८ पात्रहरू’ को कथन पनि अब खोक्रो साबित भएको छ ।
सूची निर्माण प्रक्रियामा पारदर्शिताको अभाव पनि स्पष्ट देखिएको छ । नाम समावेश गरिएका केही व्यक्तिले नै सामाजिक सञ्जालमार्फत ‘हामीलाई जानकारी नै नदिई नाम राखियो’ भन्दै असन्तुष्टि पोखेका छन् । यसले रास्वपाभित्रको आन्तरिक निर्णय प्रक्रिया र लोकतान्त्रिक अभ्यासको कमजोरीलाई उजागर गरेको छ ।
आलोचकहरूको भनाइमा, रास्वपा पुराना दलहरूको विकल्प बन्ने दाबी गर्छ तर व्यवहारमा पद वितरण, चुनावी हिसाबकिताब र शक्ति साझेदारीमै अल्झिएको देखिन्छ । स्पष्ट वैचारिक धरातलबिना गरिएका समायोजन र एकताका अभ्यासले पार्टीको राजनीतिक दिशा झन् धमिलो बनेको तर्क गरिएको छ । यसैगरी, गैरदलीय सरकारका मन्त्रीलाई राजीनामा नगरी पार्टी पद दिने जस्ता कदमले पनि पुरानै शैलीको झल्को दिएको छ ।
जनस्तरमा अब ठूलो प्रश्न उठिरहेको छ– रास्वपा वास्तवमा नयाँ राजनीतिक संस्कृति ल्याउने दल हो कि पुरानै सत्ता खेललाई नयाँ अनुहार र नारामा बेरेर बेच्ने अर्को माध्यम मात्र ? ‘गैरराजनीतिक’ को आवरणभित्र अवसरवाद र सत्ताको भोक त लुकेको छैन ?
यी प्रश्नको जवाफ रास्वपाले अब आफ्नो व्यवहार र निर्णयबाट दिनैपर्ने दबाब बढेको छ । नत्र ‘निलो क्रान्ति’ को चर्को नारा आफैंमा बोझ बन्ने खतरा देखिएको छ ।
पार्टी नेतृत्वसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।











