
एमाले महाधिवेशन: काठमाडौं क्षेत्रबाट फुयाँल केन्द्रीय सदस्यमा निर्वाचित


काठमाडौं – नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनबाट रामेश्वर फुयाँल केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ। संविधान सभा सदस्यसमेत रहनु भएका फुयाँलले काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय सदस्यमा आफ्नो स्थान पक्का गर्नुभएको हो।
महाधिवेशन अन्तर्गत राजधानी विशेष खुल्ला तर्फको प्रतिस्पर्धामा फुयाँलले १ हजार ५ सय १२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। पार्टीभित्र लामो समयदेखि संगठन निर्माण, जनआन्दोलन र नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका फुयाँलको निर्वाचनलाई अनुभव र निरन्तरताको जितका रूपमा मूल्याङ्कन गरिएको छ।
फुयाँल बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहनु भएको व्यक्ति हुनुहुन्छ। मन्त्रीका रूपमा उहाँले सडक, पुल, पूर्वाधार विस्तार, शहरी विकास र निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्याएको बताइएको छ। कार्यकुशलता र पारदर्शितामा जोड दिँदै काम गर्ने उहाँको शैली सरोकारवालाहरूले सकारात्मक रूपमा मूल्याङ्कन गर्दै आएका छन्।
राजनीतिमा लामो अनुभव संगालेका फुयाँल संविधान निर्माण प्रक्रियामा समेत सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। पार्टी संगठन सुदृढीकरण, नीति तथा कार्यक्रम निर्माण र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आउनु भएका उहाँको केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुनुले एमालेलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
निर्वाचनपछि प्रतिक्रिया दिंदै फुयाँलले आफूलाई विश्वास गरेर मत प्रदान गर्ने प्रतिनिधि र कार्यकर्ताप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र जनताको हितमा अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आगामी दिनमा पार्टीलाई सबल बनाउन, जनताको सेवामा केन्द्रित हुने र संगठनलाई अझ सुदृढ बनाउने दिशामा निरन्तर योगदान दिने बताउनुभएको छ।
फुयाँलको विजयले एमाले भित्र अनुभव र स्थायित्वलाई प्राथमिकता दिने संकेत गरेको विश्लेषकहरू बताउँछन्, जसले आगामी पार्टी रणनीति र विकास कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।











