काठमाडौं महानगर मेयर बालेन शाहले राजीनामा, दिए लगत्तै रास्वपा कार्यालयमा घण्टी घर पुगे

0
21

काठमाडौं, माघ ४ (नगर विकास संवाददाता) । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिएका छन् । 

   उनले राजिनामा दिए लगत्तै रास्वपा  कार्यालय  घण्टी घर पुगेका छन्। उनले दिउँसो उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा आजै (माघ ४, २०८२) देखि लागू हुने गरी स्वीकार भएको थियो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रावधानअनुसार प्रमुखले उपप्रमुखलाई राजीनामा बुझाउनुपर्ने व्यवस्थालाई पालना गर्दै शाहले यो कदम चालेका हुन् । उपप्रमुख डंगोलले राजीनामा प्राप्त भएको पुष्टि गर्दै भनिन्, “हो, मेयरज्यूको राजीनामा आएको छ । उहाँले मलाई नै बुझाउनुभएको हो ।”
राजीनामा पत्रमा शाहले लेखेका छन् : “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु ।”
स्रोतका अनुसार राजीनामाको मुख्य कारण राष्ट्रिय राजनीतिमा प्रवेश हो । स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को स्थानीय निर्वाचन जितेका बालेन यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरिसकेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले महानगरको जिम्मेवारी त्यागेका हुन् । पार्टीभित्र उनी वरिष्ठ नेता तथा सम्भावित प्रधानमन्त्रीका दाबेदारका रूपमा पनि हेरिएका छन् ।
राजीनामा बुझाएलगत्तै बालेन रास्वपाको केन्द्रीय कार्यालय (घण्टीघर) पुग्ने कार्यक्रम छ । त्यहाँ पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै आगामी राजनीतिक योजनाबारे छलफल हुने बुझिएको छ ।
महानगर नेतृत्वमा रहँदा बालेनले फुटपाथ अतिक्रमण हटाउने डोजर अभियान, फोहोर व्यवस्थापन सुधार र सार्वजनिक जग्गा संरक्षणजस्ता कामले राष्ट्रिय चर्चा कमाएका थिए । यी कदमले उनलाई युवा पुस्तामा लोकप्रिय बनायो तर केही विवाद पनि निम्त्यायो । उनको यो निर्णयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । कतिपयले यसलाई स्थानीय तहबाट राष्ट्रिय नेतृत्वतर्फको स्वाभाविक फड्को मानेका छन् भने कतिपयले महानगरका अधुरा योजना छोडेकोमा आलोचना पनि गरेका छन् ।
राजीनामापछि महानगरको नेतृत्व उपप्रमुख डंगोलले सम्हाल्नेछिन् । उनले निर्वाचनसम्म कार्यवाहक प्रमुखको जिम्मेवारी निर्वाह गर्ने छन् । बालेनको राष्ट्रिय राजनीतिक यात्राले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ ।

LEAVE A REPLY