
चुनावी एजेन्डा लिएर कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक हुँदै


नेपाली कांग्रेसले आज (फागुन २ गते) सम्ममा आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार अन्तिम मस्यौदामा आवश्यक परिमार्जन तथा समन्वय पूरा भइसकेको छ र औपचारिक कार्यक्रममार्फत दस्तावेज सार्वजनिक गरिनेछ।
कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै आर्थिक पुनरुत्थान, रोजगारी सृजना, सुशासन, शिक्षा–स्वास्थ्य सुधार तथा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्ने संकेत दिएको छ। उत्पादन वृद्धि र निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने, कृषि आधुनिकीकरणमार्फत ग्रामीण आय वृद्धि गर्ने तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने विषय प्रतिज्ञापत्रका मुख्य अजेन्डा रहने बताइएको छ।
साथै, संघीयताको प्रभावकारी कार्यान्वयन, स्थानीय तहको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा कार्यक्रमको विस्तार र सेवा प्रवाहमा डिजिटल प्रविधिको उपयोगलाई जोड दिइने जनाइएको छ। भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका लागि कडा नीतिगत सुधार, सार्वजनिक खर्चको दक्ष व्यवस्थापन तथा नतिजामुखी प्रशासनिक संरचना विकास गर्ने प्रतिबद्धता समेटिने तयारी छ।
पार्टीभित्र विभिन्न तहका नेता तथा विज्ञहरूसँग छलफल गरेर प्रतिज्ञापत्र तयार गरिएको दाबी गरिएको छ। नागरिकका सरोकार, उद्योग–व्यवसायको सुझाव र युवापुस्ताको अपेक्षालाई समेट्ने प्रयास गरिएको कांग्रेस नेताहरूले बताएका छन्। प्रतिज्ञापत्र सार्वजनिक भएपछि देशभरका कार्यकर्तामार्फत घरदैलो र सभा–सम्मेलनमा यसको प्रमुख बुँदा प्रस्तुत गरिने कार्यक्रम छ।











