नीति भाषणमा, नेतृत्व कुर्सीमा सीमित — राजन गौतमको सत्तामाथि प्रहार

0
59

काठमाडौं, पुस १४ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बागमती प्रदेशका अध्यक्ष राजन गौतम (नकुल) ले वर्तमान राजनीतिक अभ्यासप्रति कडा असन्तोष व्यक्त गरेका छन्। उनले जनताको नाममा सत्ता सञ्चालन गरेर सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने प्रवृत्तिविरुद्ध निर्णायक संघर्षको चेतावनी दिएका छन्।

अध्यक्ष गौतमले बागमती प्रदेशको विकास निजी स्वार्थ, दलाली र कुर्सीकेन्द्रित राजनीतिका कारण बन्धक बनेको आरोप लगाए। उनले भने, “नीति तथा योजना भाषणमा मात्र सीमित छन्, नेतृत्वहरू जिम्मेवारीबाट भागिरहेका छन् र राजनीतिक निष्ठा सत्ताको सौदाबाजीमा हराइसकेको छ।”
उनले भ्रष्टाचार, अनियमितता र जवाफदेहिताविहीन शासनका कारण शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीजस्ता जनतासँग प्रत्यक्ष जोडिएका आधारभूत क्षेत्रहरू ओझेलमा परेको बताए। “जनमुखी नीति, इमानदार नेतृत्व र कडा कार्यान्वयनबिना वास्तविक परिवर्तन सम्भव छैन,” गौतमले थपे, “प्रदेशका स्रोतसाधन जनहितमा प्रयोग नगर्नेहरूलाई राजनीतिक रूपमा पराजित गरिनेछ।”

प्रलोपा बागमती प्रदेशले अब कुनै सम्झौता नगरी संघर्षको राजनीति अघि बढाउने र जनताको जीवनस्तर उकास्न असफल सत्ता संरचनासँग सहकार्य नगर्ने नीति स्पष्ट पारेको छ। अध्यक्ष गौतमले पार्टी जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचारविरोधी अभियान र संगठन विस्तारलाई प्राथमिकता दिँदै आएको छ। यसै सन्दर्भमा अध्यक्ष गौतमको यो अभिव्यक्ति बागमती प्रदेशको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

LEAVE A REPLY