
नुवाकोटको भविष्यबारे राजन गौतम (नकुल)को गम्भीर ध्यानाकर्षण


नुवाकोट , बागमती प्रदेश प्रमुख तथा नुवाकोट जिल्लाका परिवर्तनकारी योद्धा एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य राजन गौतम (नकुल) ले जिल्लाको समग्र विकास र राजनीतिक अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
उहाँले हाल देखिएका गतिविधि र प्रवृत्तिप्रति जिकिर गर्दै विगतका प्रतिबद्धता र संघर्षलाई स्मरण गराउनुभएको छ। परिवर्तनका नाममा गरिएको सम्झौता र स्वार्थप्रेरित निर्णयले जनताको भरोसा कमजोर बन्दै गएको भन्दै त्यसतर्फ सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने स्पष्ट पार्नुभएको छ।
उहाँले नुवाकोटको विकास सम्भावना अपार रहे पनि सही नीति, इमानदार नेतृत्व र जनमुखी कार्यशैलीको अभावले अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। प्राकृतिक स्रोत, मानवीय श्रम र युवाशक्तिको सही सदुपयोग गर्न नसक्दा जिल्ला पछाडि परिरहेको उल्लेख गर्दै अब पुरानै शैलीले काम नगर्ने चेतावनी दिनुभयो।
उहाँले जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त उपलब्धिलाई हल्का रूपमा लिन नहुने स्मरण गराउँदै लोकतन्त्र, समानता र सामाजिक न्यायको मूल मर्मबाट विचलित नहुन आग्रह गर्नुभयो। “जनताको नाममा राजनीति गरेर जनताकै हितविपरीत काम हुनु अत्यन्त गम्भीर विषय हो,” भन्दै उहाँले यसप्रति सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउनुभएको छ।
गौतमले नुवाकोटको भविष्य सुरक्षित गर्न सबै परिवर्तनकारी शक्ति, युवाहरू र सचेत नागरिक एकताबद्ध हुनुपर्ने बताउँदै विचार, व्यवहार र नेतृत्व तीनै तहमा परिवर्तन आवश्यक रहेको स्पष्ट पार्नुभयो।











