नुवाकोट किन पछाडि पर्‍यो ? प्रलोपा नेता नकुलले औंल्याए तीन कारण

0
42

काठमाडौं/नुवाकोट, पुस १२ — राजधानीसँग सटिएको जिल्ला हुँदाहुँदै पनि विकासको मूल धारमा समेटिन नसकेको नुवाकोटको अवस्थाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का बागमती प्रदेश संयोजकमध्येका एक राजन गौतम ‘नकुल’ले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले जिल्लाको पछौटेपनको मुख्य कारण स्थानीय राजनीतिक नेतृत्वको कमजोरी भएको दाबी गरेका छन्।
नकुलका अनुसार नुवाकोटमा दीर्घकालीन सोच र समग्र विकासको स्पष्ट खाका अभाव छ। “राजधानी नजिकै रहेर पनि अल्पकालीन स्वार्थका आधारमा मात्र राजनीति हुने गरेको छ, जसले जिल्लाको समग्र विकास रोकिएको छ,” उनले बताए।

उनले पहुँच र शक्ति केन्द्रित सोचका कारण बजेट तथा योजनाहरू व्यक्तिगत वा सीमित समूहको हितमा खर्च हुने गरेको आरोप पनि लगाए। यसले स्थानीय तहमा विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

नुवाकोटमा रहेको नुवाकोट दरबार, लाङटाङ राष्ट्रिय निकुञ्ज, त्रिशूली जलविद्युत् आयोजना तथा जैविक कृषिजस्ता सम्भावनाहरू उपयोग हुन नसकेकोतर्फ संकेत गर्दै उनले लगानी र रोजगारी सृजना हुन नसक्नु दुःखद भएको बताए। प्रशासनिक समन्वयहीनता र जनसहभागिताको कमीले विकास प्रक्रिया थप अवरुद्ध भएको उनको ठहर छ।

“भूगोल सुहाउँदो, स्थानीय आवश्यकता र सम्भावना बुझ्ने नेतृत्व आजको आवश्यकता हो,” नकुलले जोड दिए।
यसैबीच, प्रलोपाले हालै जारी गरेको १४ बुँदे सर्कुलरमार्फत बागमती प्रदेश संयोजनमा राजन गौतमसहितका नेताहरूलाई जिम्मेवारी दिएको छ। पार्टीले भ्रष्टाचारविरुद्ध अभियान र संगठन विस्तारलाई प्राथमिकतामा राखेको बताइएको छ।

नकुलको अभिव्यक्तिपछि नुवाकोटमा विकास र नेतृत्वबारे नयाँ राजनीतिक बहस सुरु भएको छ। स्थानीयवासीहरूले यसलाई आवश्यक दबाबको रूपमा लिएका छन्। अब यस्ता अभिव्यक्तिले व्यावहारिक परिवर्तन ल्याउने कि केवल चर्चामै सीमित रहने भन्ने प्रश्न खुला रहेको छ।

LEAVE A REPLY