
पर्साबाट दर्जनौं नेता–कार्यकर्ता नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश


पर्साबाट दर्जनौं नेता–कार्यकर्ता नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौं, १२ पुस २०८२ । नेकपा (एमाले) पर्साका जिल्ला स्तरीय नेता जयप्रकाश थारूको नेतृत्वमा चार दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले स्वागत गरेका थिए ।

नवप्रवेशीहरूमा पूर्व संविधानसभा सदस्य, पूर्व गाविस अध्यक्षलगायतका नेताहरू समावेश छन् । उनीहरूले नेकपा (एमाले) परित्याग गरी नयाँ पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले मुलुकको विद्यमान राजनीतिक समस्याको समाधान निर्वाचनबाट मात्र सम्भव रहेको बताए । उनले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सबै दलहरू तयार हुनुपर्ने धारणा राखे ।
सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीको समाजवादी कार्यक्रम स्पष्ट रहेको भन्दै जनताको विश्वास बढ्दै गएको उल्लेख गरे ।
गत कात्तिकमा १० भन्दा बढी वामपन्थी दल तथा समूहहरूको एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । पार्टीले देशभर संगठन विस्तार र नेता–कार्यकर्ता प्रवेशलाई तीव्रता दिएको छ ।











