“प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेतृ खुश्बु ओलीको तीव्र आपत्ति”।

0
20

प्रधानमन्त्री केपी शर्मा ओलीको “काठमाडौं एमालेको नियन्त्रणमा हुनेछ” भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले गम्भीर आपत्ति जनाउँदै यो अभिव्यक्ति लोकतान्त्रिक मान्यतामाथिको खुला प्रहार भएको बताएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत भनिन्— “राष्ट्रको राजधानी कुनै राजनीतिक दलको निजी सम्पत्ति होइन। आन्दोलन गर्नु र असहमति जनाउनु लोकतन्त्रका आधारभूत अधिकार हुन्। यस्ता अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमा मात्रै घटाउँदैन, सरकारको अधिनायकवादी चरित्र पनि उजागर गर्छ।”

चैत १५ को आन्दोलनमा भएको दमनलाई स्मरण गराउँदै नेतृ ओलीले सोही घटनाको पुनरावृत्तिको चेतावनी झल्काउने प्रधानमन्त्रीको पछिल्लो धारणा निन्दनीय रहेको स्पष्ट पारिन्।

उनले प्रश्न उठाइन्— “प्रधानमन्त्रीज्यू, तपाईं सम्पूर्ण देशका सरकार प्रमुख हो कि केवल एक पार्टीका प्रवक्ता?”

साथै उनले नागरिक समाज, सञ्चार माध्यम र बौद्धिक वृत्तलाई पनि आह्वान गर्दै भनिन्— “अब समय आएको छ, यस्ता गैर-लोकतान्त्रिक अभिव्यक्तिविरुद्ध बोल्ने कि फेरि मौन बस्ने?”

१५ जेठमा राप्रपाले राजसंस्था पुनः स्थापनाका लागि काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चेतावनीपूर्ण अभिव्यक्तिलाई नेतृ ओलीले नियोजित डर सिर्जना गर्ने प्रयासको रूपमा लिएकी छन्।

उनको भनाइमा— “असहमति लोकतन्त्रको सौन्दर्य हो। आन्दोलन कुनै अनुमति माग्ने विषय होइन, नागरिकको स्वाभाविक अधिकार हो। यस्तो मनोवृत्तिको हामी स्पष्ट शब्दमा भर्त्सना गर्छौं।”

 

LEAVE A REPLY