
बालेनविरुद्ध युवा संघद्वारा साइबर ब्युरोमा उजुरी।


काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ ।
मेयर साहले सामाजिक सञ्जालमा लेखेको एक विवादास्पद स्टाटसलाई लिएर युवा संघका उपाध्यक्ष महाराज गुरुङको नेतृत्वमा टोली साइबर ब्युरो पुगेको हो । संघले सो स्टाटसले राजनीतिक दल र नेपालका मित्रराष्ट्रहरूको प्रतिष्ठामाथि प्रहार गरेको आरोप लगाउँदै विद्युतीय अपराध ऐनअनुसार अनुसन्धान र कानुनी कारबाहीको माग गरेको छ ।
दुई दिनअघि बालेनले मध्यरातमा अशोभनीय शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । केहीबेरमै उनले त्यो पोस्ट मेटाए पनि त्यसको स्क्रिनसट सार्वजनिक भएपछि सामाजिक सञ्जालभर चर्को प्रतिक्रिया र आलोचना फैलिएको थियो ।











