रवि लामिछानेको रिहा निवेदनपछि आज पुनः सुनुवाइ हुने।

0
15

बुटवल, कात्तिक २० — बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयोजनमा रहेको १ नम्बर इजलासको ३ नम्बर पेशीमा आज दुवैको मुद्दा सुन्ने तालिका बनेको छ।

यसअघि कात्तिक १३ गते तोकिएको पेशी जोशीका कानुनी प्रतिनिधिले निवेदन दिएपछि स्थगित भएको थियो। त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालले एकै प्रकृतिका दुवै मुद्दा भएकाले लामिछाने र जोशीको मुद्दा संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएका थिए।

रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम बुझाइ बाहिरै बसेर मुद्दा लड्न अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए। सो क्रममा उच्च अदालतले जोशीको फाइल पनि सँगै पेश गर्न आदेश गरेको थियो।

यसअघि उच्च अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन पेस गर्न आदेश दिएको थियो।

‘जेन–जी’ प्रदर्शनका क्रममा उच्च अदालत बुटवल इजलासमा तोडफोड र आगजनी भए पनि लामिछाने र जोशी दुबैको मुद्दा सम्बन्धी फाइल सुरक्षित रहेको अदालत स्रोतले जनाएको छ।

सहकारी ठगी प्रकरणमा लामिछानेले सहकारीमा देखिएको अपचलनको रकम बुझाएर आफू निर्दोष रहेको दाबी गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए। तर जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदन अस्वीकार गरेको थियो।

त्यसपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनर्विचारको लागि निवेदन दर्ता गराएका थिए। आजको सुनुवाइमा दुवै पक्षका कानुनी प्रतिनिधिहरूले आफ्नो तर्क–वितर्क राख्ने अपेक्षा गरिएको छ।ोफप

LEAVE A REPLY