
राजन गौतम (नकुल) प्रलोपा बागमती प्रदेश समिति अध्यक्ष मण्डलको अध्यक्षमा चयन


नुवाकोट जिल्लाका परिवर्तनकारी योद्धा तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य राजन गौतम (नकुल) बागमती प्रदेश समिति अध्यक्ष मण्डलको अध्यक्षमा चयन हुनुभएको छ। उहाँको चयनसँगै विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ
जनताको मुद्दा चर्को रूपमा उठाएका राजन गौतम (नकुल) ले बागमती प्रदेशमा व्याप्त बेरोजगारी, सुशासनको अभाव, जनजीविकाको समस्या र विकासका नाममा भइरहेको अनियमितताप्रति कडा असन्तुष्टि जनाउनुभएको थियो। उहाँले प्रदेश सरकार जनताको वास्तविक समस्याबाट टाढिँदै गएको आरोप लगाउँदै अब जनमुखी, पारदर्शी र उत्तरदायी राजनीतिको विकल्प अपरिहार्य भइसकेको स्पष्ट गर्नुभएको थियो।
उहाँले “राजनीति पद र लाभका लागि होइन, जनताको दुःख–सुखको साझेदार बन्नका लागि हुनुपर्छ” भन्दै युवालाई रोजगारी, किसानलाई न्याय, श्रमिकलाई सम्मान र सीमान्तकृत समुदायलाई अधिकार दिलाउने संघर्ष नै आफ्नो प्राथमिकता हुने बताउनुभएको थियो। साथै, विकास बजेटको दुरुपयोग, पहुँचका आधारमा मात्रै अवसर बाँड्ने प्रवृत्ति र जनप्रतिनिधिको गैरजिम्मेवार व्यवहार अन्त्य गर्न कडा राजनीतिक दबाब आवश्यक रहेको उहाँको धारणा थियो।
राजन गौतम (नकुल) को अध्यक्षतामा बागमती प्रदेशमा पार्टी संगठन सुदृढ गर्दै गाउँ–गाउँसम्म जनताको आवाज पुर्याइने विश्वास व्यक्त गरिएको छ। शुभकामना दिने वक्ताहरूले उहाँको स्पष्ट विचार, संघर्षशील पृष्ठभूमि र निर्भीक अभिव्यक्तिले प्रलोपा मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन्।
नवदायित्वसँगै उहाँको कार्यकाल सफल रहोस् र हिजो उठाइएका मुद्दा व्यवहारमा रूपान्तरण हुँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने राजनीति स्थापित होस् भन्ने अपेक्षा समेत गरिएको छ।











