
राजावादी समूहको बैठकमा विवाद, केही नेताहरू बैठकस्थलबाट बाहिरिए।


राजावादी समूहको बैठकमा विवाद, केही नेताहरू बैठकस्थलबाट बाहिरिए
काठमाडौ ,- जेठ २१ सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बुधबार बसेको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा विवाद उत्पन्न भएपछि बैठक अव्यवस्थित बनेको छ।
बैठकमा बोल्ने क्रममा सहभागीहरूबीच माइक खोसाखोस भएपछि वातावरण तनावग्रस्त बनेको हो। राप्रपाका एक नेताका अनुसार बैठकमा करिब ४४ वटा राजावादी तथा हिन्दुवादी संघ–संगठनका प्रतिनिधि सहभागी थिए। सहभागी संख्या धेरै भए पनि सबैलाई बोल्ने अवसर नपुगेपछि असमझदारी सिर्जना भएको बताइएको छ।
घटनापछि राजावादी धारका केही शीर्ष नेताहरू बैठकस्थल छाडेर बाहिरिएका छन्। अब ती सीमित नेताहरू अर्को स्थानमा छलफल गर्दै आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा जुटेका छन्।
यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने बैठकमा सहभागिता जनाएका थिएनन्।











