
‘तिमी कृष्ण म तिम्रो राधा’पछि रायन बस्यालको नयाँ गीत सार्वजनिक।


काठमाडौं। ‘घाम पानीको छाता ओढौँ आधा–आधा, तिमी कृष्ण म हो तिम्रो राधा’—नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी मन पराइएका गीतमध्ये यही गीत एक हो।
करोड क्लबमा पुगेको यस गीतले गायक रायन बस्याललाई देशभर चर्चित बनाएको थियो। यही लोकप्रियतासँगै बस्यालले फेरि नयाँ सिर्जना लिएर बजारमा प्रवेश गरेका छन्। मेलिना राईसँग सहगायनमा तयार गरिएको ‘प्रियतम प्रियसी जुनु’ गीत हिजो एक विशेष समारोहमार्फत सार्वजनिक गरिएको हो।
यो गीत ‘घाम पानी…’ जस्तै समभाव, भावनात्मक र शैलीमा सिर्जना गरिएको छ। गीतमा स्वर र संगीत बस्यालकै रहेको छ भने शब्द सूर्यकुमार परियार र रायनले मिलेर कोरेका हुन्। बस्यालको मधुर आवाज र गीतमा समेटिएका भावपूर्ण प्रस्तुतिले दर्शक तथा श्रोतालाई फेरि एकपटक मन्त्रमुग्ध बनाउने संकेत गरेको छ।
गीतको बिमोचन राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गामबेसी रोधीघरमा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्व रहेको थियो। त्यस्तै, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा लोकप्रिय गायक पशुपति शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले बस्यालको प्रतिभाको उचाइप्रति खुसी व्यक्त गर्दै, “रायन जस्ता कलाकार नयाँ पुस्ताका लागि पाठ र प्रेरणाको स्रोत हुन्,” भन्दै निरन्तर सफलताको शुभकामना दिए।
कार्यक्रममा वरिष्ठ संचारकर्मी सुमन पण्डित, उपत्यका समिति अन्तर्गतका पत्रकार, विभिन्न कलाकार तथा सिर्जनामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूको उपस्थिति उल्लेखनीय थियो। यसले कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएको आयोजकहरूले बताए।
नयाँ गीतमा संचिता बुलाखी अभिनय गरेकी छन्। उनले यसअघि पनि बस्यालकै लोकप्रिय गीतमा अभिनय गरेकी हुनाले दुवै कलाकारको पुनः सहकार्यले गीतलाई थप चर्चित बनाउने विश्वास गरिएको छ। बस्यालले कार्यक्रममा बोल्दै अघिल्लो गीतले लगानी बराबरी उठेको र नयाँ गीतले आफ्नो सांगीतिक यात्रालाई अझ दृढ बनाउने आत्मविश्वास दिएको बताए।
गीत निर्माण पक्षमा हाल अमेरिका बसेका किरण रिमाल र राजेश रिमालको उल्लेखनीय योगदान रहेको पनि सो अवसरमा सार्वजनिक गरियो।











