
लोकतन्त्रमा विधि र संस्था महत्त्वपूर्ण – गुरु केदार बराल


जब राज्यका महत्वपूर्ण नियुक्तिहरू योग्यता, क्षमता, अनुभव र इमानदारीका आधारमा नभई राजनीतिक भागबन्डा, शक्ति केन्द्रको दबाब र दलिय स्वार्थका आधारमा हुन थाल्छन्, तब संस्थाहरू कमजोर बन्छन्, प्रणालीप्रतिको जनविश्वास घट्छ, अनि देशको भविष्य नै अन्योलतर्फ धकेलिन्छ।
आज फेरि “वरिष्ठता मिचियो” भन्ने आवाज उठाइँदैछ । तर प्रश्न के हो भने — विगतमा पटक–पटक विधि, प्रक्रिया र संस्थागत मर्यादा मिचिँदा किन धेरैजना मौन थिए ? आफ्नो पक्षमा निर्णय हुँदा सबै ठीक देख्ने, तर आफूअनुकूल नहुँदा मात्रै नियम र नैतिकताको पाठ पढाउने प्रवृत्तिले नै देशलाई यहाँसम्म ल्याएको हो।
वरिष्ठता भनेको केवल पदक्रम होइन । त्यससँग अनुभव, योगदान, क्षमता, नेतृत्व र संस्थागत निरन्तरता जोडिएको हुन्छ । एउटा व्यक्तिले दशकौंसम्म न्याय, प्रशासन वा राष्ट्रको सेवामा दिएको योगदानलाई राजनीतिक चस्माबाट हेर्न मिल्दैन । योग्य र सक्षम व्यक्तिलाई केवल दलिय स्वार्थका कारण रोक्ने प्रयास गर्नु भनेको एउटा व्यक्तिमाथिको अन्याय मात्र होइन, सम्पूर्ण प्रणालीमाथिको प्रहार हो।
आज जनताले सबै देखिरहेका छन् ।
कसले विधिको कुरा केवल आफ्नो स्वार्थका लागि गरिरहेको छ, र कसले वास्तवमै संस्थाको मर्यादा जोगाउन खोजिरहेको छ भन्ने कुरा अब लुकाएर लुक्दैन। लोकतन्त्रमा दल आवश्यक हुन्छन्, तर दलभन्दा माथि राष्ट्र हुनुपर्छ, विधि हुनुपर्छ, संस्था हुनुपर्छ। यदि हरेक नियुक्ति, निर्णय र अवसरलाई दलिय भागबन्डाको तराजुमा जोख्ने हो भने सक्षम र इमानदार मानिसहरू सधैं पछि पर्नेछन्, अनि चापलुसी र पहुँचवालाहरू अगाडि आउनेछन्।
सबैभन्दा दुःखद कुरा के छ भने, आज पनि केही मानिसहरू योग्यता र योगदानको बहस गर्नुभन्दा व्यक्ति कसको नजिक छ भन्ने हिसाबमा निर्णय गर्न खोजिरहेका छन् । यही मानसिकताले देशलाई कमजोर बनाएको हो । न्यायालय, संवैधानिक निकाय र राज्यका संस्थाहरू कुनै दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ होइनन्; ती राष्ट्रको भरोसा टिकाउने आधार हुन्।
अब समय आएको छ —
व्यक्ति होइन, प्रणाली बलियो बनाउने।
भागबन्डा होइन, योग्यता स्वीकार गर्ने।
दलको आदेश होइन, विधि र संविधानको सम्मान गर्ने।
नत्र इतिहासले फेरि यही लेख्नेछ —
देशलाई कमजोर बनाउने काम बाहिरी शत्रुले भन्दा बढी आफ्नै स्वार्थी राजनीतिक सोचले गरेको थियो।
गुरु केदार बराल











