सत्ता र पैसाकै लोभले पुरानो दलको दुर्गति,बिगतको प्रतिशोधको राजनीतिले आफैँ सकिने बाटोमा’ — हरिकृष्ण गजुरेल

0
38

सत्ता र पैसाकै लोभले पुरानो  दलको दुर्गति, प्रतिशोधको राजनीतिले आफैँ सकिने बाटोमा’ — हरिकृष्ण गजुरेल
२०८२ चैत २७ गते ​काठमाडौँ —  कम्युनिस्ट समाजवादी पार्टी नेपालका  संयोजक हरिकृष्ण गजुरेलले पुराना  दलहरू केवल सत्ता, शक्ति र पैसाको लेनदेनमा केन्द्रित भएकै कारण आज उनीहरूको बिचल्ली भएको टिप्पणी गर्नुभएको छ। एभिन्युज टेलिभिजनको चर्चित बहस कार्यक्रम ‘चर्काचर्की’ मा पत्रकार अनिल रायमाझीसँग बोल्दै गजुरेलले कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू (नेकपा) प्रति जनताको चरम असन्तुष्टि बढ्नुको मुख्य कारण उनीहरूको स्वार्थी र भ्रष्ट प्रवृत्ति नै भएको ठोकुवा गर्नुभयो।
​”जनता र राष्ट्रको हितभन्दा पनि कसरी सत्तामा टिकिरहने र पैसा कमाउने भन्नेमा ठूला दलहरू केन्द्रित भए, त्यसकै परिणाम आज उनीहरू यो अवस्थामा आइपुगेका हुन्,” गजुरेलले भन्नुभयो। उहाँले नयाँ शक्ति रास्वपा जुन जनमतका साथ आएको छ, उसलाई काम गर्न नदिई अवरोध सिर्जना गर्नु लोकतन्त्रका लागि घातक भएको बताउनुभयो। विगतको कुरा स्मरण गराउँदै उहाँले रवि लामिछानेलाई हिरासतमा राखेर गरिएको व्यवहारलाई ‘नियोजित प्रतिशोध’ को संज्ञा दिनुभयो। “माधव नेपालहरू त्यही प्रकृतिको मुद्दामा बाहिरै बसेर मुद्दा लड्न पाउने, तर अर्कोलाई थुनेको थुन्यै गर्ने? प्रतिशोधको यो फोहोरी खेल पुराना दलहरूले नै सिकाएका हुन् र आज उनीहरू आफैँ यसको चपेटामा पर्दैछन्,” उहाँले थप्नुभयो।
​प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको नेतृत्वमा गोली चल्नु र त्यसको नैतिक जिम्मेवारी नलिनुलाई गजुरेलले ‘नैतिकताको खडेरी’ भन्नुभएको छ। भदौ २३ मै राजीनामा दिएको भए परिस्थिति अर्कै हुने भन्दै उहाँले सत्तामा हुँदा सब ठीक देख्ने र बाहिर हुँदा रोइलो गर्ने प्रवृत्तिले पुराना दलहरू अत्तालिएको बताउनुभयो।
​गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक नगरेको विषयमा एमालेलाई घेर्दै उहाँले कडा प्रश्न गर्नुभयो— “गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक गर्नुस् अनि मात्र चुनावमा जाउँला भनेर एमालेले किन भन्न सकेन? पहिलो शक्ति बन्छौँ भन्ने लोभ र दम्भले तपाईंहरू चुनावमा गएको होइन? अहिले जनमत अर्कै आएपछि र आफू अत्तालिएपछि प्रतिशोध भयो भनेर सडकमा उत्रिनु कत्तिको ठिक हो?”
​अन्त्यमा, संयोजक गजुरेलले अरूलाई दोष दिएर उम्कनुभन्दा आफ्नै अनुहार ऐनामा हेर्न र सुधार गर्न सत्ताधारीहरूलाई कडा चेतावनी दिनुभयो। उहाँले थप्नुभयो, “आफू सत्तामा हुँदा जे मन लाग्यो त्यही गर्ने अनि बाहिरिएपछि रुवाबासी गर्ने राजनीति अब चल्दैन।”

LEAVE A REPLY