हिजो नगर विकास, आज देश विकास: बालेनको राजनीतिक यात्रा नयाँ मोडमा

0
20

हिजो नगर विकास, आज देश विकास: बालेनको राजनीतिक यात्रा नयाँ मोडमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा देखिएको सक्रिय नेतृत्वका कारण चर्चामा रहेका मेयर बालेन्द्र साह (बालेन) अब राष्ट्रिय राजनीतिको मैदानतर्फ उन्मुख देखिएका छन्।

नगर प्रमुखका रूपमा शहरी व्यवस्थापन, सार्वजनिक जवाफदेहिता र प्रशासनिक कठोरतामार्फत पहिचान बनाएका बालेनले अब ‘देश विकास’को एजेन्डा अघि सार्दै चुनावी तयारी थालेका छन्।

स्थानीय तहमा सुधारको अभ्यास गरेपछि त्यसको अनुभव राष्ट्रव्यापी रूपमा विस्तार गर्नुपर्ने निष्कर्षसहित बालेनले वैकल्पिक राजनीतिक धार निर्माणको गृहकार्य अघि बढाएको उनको निकट स्रोतले जनाएको छ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग लामो छलफल भए पनि साझा राजनीतिक बाटो तय हुन नसकेपछि उनले आफ्नै नेतृत्वमा अघि बढ्ने निर्णय लिएका हुन्।

बालेनको रणनीतिमा परम्परागत दलमा रहेर पनि जनतामाझ विश्वास कमाएका व्यक्तित्व, युवा पुस्ताका प्रतिनिधि र सामाजिक सञ्जालमार्फत प्रभाव जमाएका अनुहारहरूलाई समेट्ने लक्ष्य राखिएको छ। त्यसका लागि उनका सहयोगीहरूले विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूसँग निरन्तर संवाद गरिरहेका छन्।

स्रोतका अनुसार ‘देश विकास पार्टी’ नामक नयाँ राजनीतिक संरचनाबाट निर्वाचनमा सहभागी हुने तयारी भइरहेको छ। सो दलको प्राथमिक एजेन्डामा सुशासन, पारदर्शिता, उत्पादनमुखी अर्थतन्त्र र युवालाई देशमै अवसर सिर्जना गर्ने नीति समेटिनेछ।

समानुपातिकतर्फका सम्भावित उम्मेदवारहरूको सूची तयारीको कामसमेत सुरु भइसकेको बताइन्छ।
जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति आन्दोलनका अगुवा रेशमलाल चौधरीदेखि सञ्चार र वैचारिक क्षेत्रका केही प्रभावशाली व्यक्तित्वसँग बालेनले छलफल अघि बढाइसकेको बुझिएको छ। यसले उनको राजनीतिक सोच दलीय सीमाभन्दा बाहिर सहकार्य खोज्ने दिशामा केन्द्रित रहेको संकेत गर्दछ।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको यो कदम “हिजो नगर विकास, आज देश विकास” भन्ने नारालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा हेरिएको छ। अब प्रश्न यो छ—नगरमा प्रयोग भएको प्रयोगशाला मोडेल राष्ट्रिय राजनीतिमा कत्तिको सफल हुन्छ?

LEAVE A REPLY