
प्रचण्डको संसदीयता र बिप्लवको भ्रमजन्य क्रान्तिको विकल्पमा ‘बहुमत’।


नयाँ क्रान्तिकारी मोर्चा : बहुमत पार्टीतर्फ पूर्व-विप्लव र माओवादी नेताहरूको जुटान
काठमाडौ , जेष्ठ २६– नेपाली वाम आन्दोलनमा एक नयाँ मोड देखिएको छ। नेकपा विप्लव समूह र एकीकृत माओवादीबाट सक्रिय दर्जनौं नेताहरूले ती दल परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) रोजेका छन्।
सोमबार सार्वजनिक रूपमा बहुमत पार्टी प्रवेशको घोषणा गर्दै नेताहरूले जनतालाई ‘उत्पादन क्रान्ति’ र ‘निर्वाचनमार्फत परिवर्तन’ जस्ता नाराको नाममा ठगिएको आरोप लगाए। उनीहरूका अनुसार यस्ता नारा केवल भ्रम फैलाउने अस्त्र बन्न पुगेका छन्।
सिन्धुपाल्चोक बाट उल्लेखनीय हस्तान्तरण
केन्द्रीय प्रतिनिधि सदस्य किरण घिमिरेको नेतृत्वमा सिन्धुपाल्चोक जिल्लाबाट नारायण नेपाल, जितेन गुरुङ, दीपक भट्टराई, नवराज रोका, धनबहादुर तामाङ, हिरा नेपाली, हिरा घिमिरे, निरबहादुर तामाङ, भूपाल तामाङ, दमाईसिंह तामाङ, शिव दनुवार, समीर चौलागाईं, अमर तामाङ र प्रदीप लगायत बहुमत पार्टीमा सामूहिक प्रवेश गरेका छन्।
अन्य दल बाट बहिर्गमन
त्यसैगरी, माणिक लामाको नेतृत्वमा रहेको नेकपा (एकीकृत माओवादी) बाट केन्द्रीय सदस्य त्रिपाल तामाङ र सल्लाहकार समिति सदस्य सोनाम तामाङले पनि बहुमत रोजेका छन्। सामाजिक अभियन्ता जीवि बज्र लामा समेत नयाँ पार्टीमा समावेश भएका छन्।प्रवेश गरेका नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “नेपाली सर्वहारा वर्गको क्रान्तिको मुल उद्देश्य अझै अधुरो छ। उत्पादन क्रान्ति र चुनावी बहानाबाजी जनतामाथिको विश्वासघात हुन्।”
संयुक्त वक्तव्यको सन्देश
उनीहरूले संसदवादी व्यवस्थालाई विदेशी दलाल शक्तिहरूको कब्जामा रहेको भन्दै त्यसको विकल्प स्वरूप वैज्ञानिक समाजवादी शासनको आवश्यकता औंल्याएका छन्।
वक्तव्यमा बहुमत पार्टीको ‘जनसंघर्ष हुँदै जनविद्रोह’ र ‘स्वाधीन संयुक्त सरकार’को धारणा आजको यथार्थ राजनीतिक विकल्प भएको स्पष्ट गरिएको छ।
सत्ताको बिकल्पको खोजीमा
राजसंस्थाको नाममा अघि सारिएको प्रतिक्रियावादी एजेन्डा र संसदीय लोकतन्त्रको आवरणमा संस्थागत भ्रष्टाचार जनताले अब अस्वीकार गरिसकेको भन्दै नयाँ शक्ति निर्माणको आह्वान गरिएको छ।











