
कर नीतिको विरोधमा नुवाकोटका सुनचाँदी व्यवसायीद्वारा दुई दिन पसल बन्द।


कर नीतिको विरोधमा नुवाकोटका सुनचाँदी व्यवसायीद्वारा दुई दिन पसल बन्द
रिपोर्ट दिनेश लामिछाने
नुवाकोट, जेठ २९ – नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ, र नेपाल हस्तकला महासंघको संयुक्त आह्वानमा देशव्यापी रुपमा सञ्चालन गरिने विरोध कार्यक्रमलाई समर्थन गर्दै नुवाकोटका सुनचाँदी व्यवसायीहरूले पनि दुई दिनसम्म पसल बन्द गर्ने भएका छन्।
नुवाकोट सुनचाँदी व्यवसायी संघका कार्यसमिति सदस्य राजकुमार सुनारले दिएको जानकारी अनुसार, बजेटमार्फत सरकारले लगाएको अन्यायपूर्ण कर प्रणालीको विरोधमा यहि मिति २०८२ जेठ २९ र ३० गते जिल्लाभरका सुनचाँदी पसलहरू बन्द गर्ने निर्णय गरिएको हो।
उनले व्यवसायीहरूको हित र भविष्यलाई ख्याल नगरी सरकारले अचानक कर वृद्धि तथा नयाँ कर प्रणाली लागू गरेकोप्रति आपत्ति जनाउँदै त्यसको खारेजीको मागसमेत गरेका छन्।
संघले सबै व्यवसायीलाई एकजुट भई विरोध कार्यक्रममा सहभागी हुन अपिल गर्दै आन्दोलनलाई सफल पार्न सहयोग गर्न अनुरोध गरेको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा आभूषण क्षेत्रमा करको दर वृद्धि गरेपछि देशभरका व्यवसायी आन्दोलित छन्। संघहरूका अनुसार यो कर नीतिले व्यवसाय धरासायी हुने खतरा बढेको छ।











