
रवि लामिछाने–बालेन शाहबीच चुनावी सहकार्यबारे ६ घण्टा लामो छलफल


रवि लामिछाने–बालेन शाहबीच चुनावी सहकार्यबारे ६ घण्टा लामो छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने विषयमा करिब ६ घण्टा लामो छलफल भएको छ।
छलफलका क्रममा वैकल्पिक राजनीतिक शक्तिलाई नेपाली राजनीतिको मूलधारमा स्थापित गर्ने, परम्परागत राजनीतिको कमजोरीलाई तोड्दै सुशासन र जवाफदेहितामार्फत देशलाई निकास दिने विषयमा सैद्धान्तिक सहमति जुटेको हो।
दुवै नेताले वर्तमान राजनीतिक अवस्थाबाट आम नागरिकमा बढ्दो निराशा चिर्न नयाँ सोच, नयाँ कार्यशैली र नयाँ नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
भेटवार्तामा आगामी निर्वाचनमा सम्भावित तालमेल, साझा एजेन्डा निर्माण, भ्रष्टाचारविरुद्धको कठोर अभियान तथा स्थानीय र केन्द्रीय तहबीचको प्रभावकारी समन्वयका विषयमा पनि विचार–विमर्श भएको स्रोतको दाबी छ। यद्यपि, औपचारिक निर्णय भने तत्काल सार्वजनिक नगरिएको जनाइएको छ।
छलफलपछि दुवै पक्षले राजनीतिक संवादलाई अझ सुदृढ बनाउँदै निरन्तर अघि बढाउने समझदारी गरेका छन्। आवश्यक परे थप चरणमा छलफल गर्दै साझा रणनीति तय गर्ने तयारी रहेको पनि बताइएको छ।
यस भेटवार्तालाई आगामी दिनमा वैकल्पिक राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।











