“पर्व नजिकिँदै, तरुल किनमेलमा भिड”

0
7

पुस ३०  काठमाडौ ।   माघे संक्रान्तिको पूर्वसन्ध्या: बजारमा तरुल र चाकूको तानातान, व्यवसायीलाई भ्याइनभ्याइ
​काठमाडौँ ।  पवित्र पर्व माघे संक्रान्तिको पूर्वसन्ध्यामा आज देशैभरका बजारहरूमा छुट्टै रौनक देखिएको छ। विशेषगरी तरुल, सखरखण्ड, पिँडालु र चाकूसँग जोडिएको यो पर्वका लागि उपभोक्ताहरूको भिडले बजार भरिभराउ बनेका छन्।
​काठमाडौँको  माछापोखरी  कालीमाटी तथा कुलेश्वर फलफूल एवं तरकारी बजारमा बिहानैदेखि तरुल र पिँडालु खरिद गर्नेहरूको घुइँचो लागेको छ।

बजारमा तरुलको माग र आपूर्तिको अवस्थाबारे बालाजु, माछापोखरीमा लामो समयदेखि तरकारी पसल गर्दै आएका व्यवसायी राम थापा भन्छन्— “अघिल्ला वर्षहरूको तुलनामा यसपालि तरुल र सखरखण्डको माग निकै बढी छ। हिजोदेखि नै ग्राहकहरूको भिड थामिनसक्नु छ। विशेषगरी वन तरुल खोज्ने धेरै छन्, तर बजारमा घर तरुल र सिमल तरुलको उपलब्धता बढी छ। अघिल्लो हप्ताको तुलनामा मूल्यमा सामान्य वृद्धि भए पनि ग्राहकहरूले पर्व मनाउनका लागि उत्साहपूर्वक खरिद गरिरहेका छन्।”

​थापाका अनुसार माछापोखरी क्षेत्रमा उपत्यका भित्रिने गाडीहरूबाट सिधै सामान आइपुग्ने भएकाले पनि बिहानैदेखि खुद्रा व्यापारी र उपभोक्ताको चाप बढेको हो।

व्यवसायीहरूका अनुसार यस वर्ष धादिङ, नुवाकोट, सर्लाही र चितवन लगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल भित्रिएको छ। बजारमा वन तरुल, घर तरुल, सिमल तरुल र हात्तीपाइले तरुलको माग सबैभन्दा बढी देखिन्छ।
माघे संक्रान्तिको अर्को अनिवार्य परिकार चाकू र तिलको लड्डु बनाउने उद्योगहरूमा यतिबेला कामदारलाई सास फेर्ने फुर्सद समेत छैन। काठमाडौँको टोखा र पाटनका परम्परागत चाकू उद्योगहरूमा माग धान्न रातभर काम भइरहेको सञ्चालकहरू बताउँछन्। “स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीहरूबाट पनि चाकू र लड्डुको माग आएकाले यस वर्ष उत्पादनमा निकै चाप छ,” टोखाका एक व्यवसायीले भने।

नेपाली संस्कृतिमा माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन घ्यू, चाकू, तरुल र तिलका परिकार खानु स्वास्थ्य र परम्परा दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। थारु समुदायले यसलाई आफ्नो सबैभन्दा ठूलो चाड ‘माघी’ को रूपमा मनाउने तयारी गरिरहेका छन् भने मगर समुदायले पनि यसलाई नयाँ वर्षको रूपमा स्वागत गर्ने तयारी गरेका छन्।
​आज साँझबाटै चितवनको देवघाट, तनहुँको आँबुखैरेनी, गुल्मीको रिडी र नुवाकोटको देवीघाट जस्ता पवित्र नदी किनारहरूमा स्नानका लागि भक्तजनहरू पुग्ने क्रम सुरु भइसकेको छ।

LEAVE A REPLY