
गृहमन्त्री लेखकमाथिको आरोपबारे कांग्रेसको बचाउ, माओवादीले मागे राजीनामा।


गृहमन्त्री लेखकमाथिको आरोपबारे कांग्रेसको बचाउ, माओवादीले मागे राजीनामा
काठमाडौँ ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसासम्बन्धी विवादमा मुछिएका बेला नेपाली कांग्रेसले उनीमाथिको आरोप अस्वीकृत गरेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नरहेको निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।
प्रवक्ता महतका अनुसार लेखक निर्दोष छन् भन्नेमा कांग्रेस विश्वस्त छ। उनले भने, “जसले गल्ती गरेका छन्, उनीहरू कानूनी दायरामा आउनैपर्छ। तर गृहमन्त्रीको संलग्नता पुष्टि भएको छैन।”
दोसोतर्फ, सोही दिन बसेको नेकपा माओवादी केन्द्रको बैठकले भने लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। पार्टी नेताहरूका अनुसार गृह मन्त्रालयको साख जोगाउन राजीनामा आवश्यक छ।
यसैबीच, विपक्षी दलहरूले मंगलबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने तयारी थालेका छन्। उनीहरूले घटनाको छानबिन नहुँदासम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।