
राजावादी समूहद्वारा काठमाडौँमा प्रदर्शन, निषेधाज्ञापछि प्रदर्शनस्थल परिवर्तन।


राजावादी समूहद्वारा काठमाडौँमा प्रदर्शन, निषेधाज्ञापछि प्रदर्शनस्थल परिवर्तन
काठमाडौँ, जेठ १८ – राजतन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएको राजावादी समूहले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेको छ। ‘संयुक्त जनआन्दोलन समिति’ नामक समूहले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने योजना बनाए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि उनीहरूले स्थान परिवर्तन गरेका हुन्।
प्रशासनको आदेशअनुसार निर्धारित स्थान परिवर्तन गर्दै प्रदर्शनकारीहरू शान्तिवाटिका (रत्नपार्क) मा भेला भए। त्यहाँबाट उनीहरूले नाराबाजीसहित बालुवाटारतर्फ र्याली निकाल्ने क्रममा त्रिचन्द्र क्याम्पसअगाडि केही समय धकेलाधकेल भएको थियो।
प्रदर्शनमा घुसपैठ गरेको आशंकामा सुरक्षाकर्मीले एक जनालाई नियन्त्रणमा लिएको जनाइएको छ। आन्दोलनको क्रममा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति देखिएको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो।