
‘मान–मर्यादा र अधिकारको प्रतीक’ भन्दै अधिवक्ता भण्डारीले रोजे क्याप चिन्ह


मान–मर्यादा र अधिकारको प्रतीक’ भन्दै अधिवक्ता भण्डारीले रोजे क्याप चिन्ह
काठमाडौँ, माघ १० — नुवाकोट क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अधिवक्ता रामेश्वर भण्डारीले ‘क्याप’ चुनाव चिन्ह प्राप्त गरेका छन्।
सचेत नागरिक अभियानका अध्यक्षसमेत रहेका भण्डारीले हिजो शुक्रबार निर्वाचन अधिकृतको कार्यालय खरेनटारबाट आधिकारिक रूपमा क्याप चुनाव चिन्ह प्राप्त गरेका हुन्।
निर्वाचन चिन्ह प्राप्त गरेसँगै सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले क्याप चिन्ह रोज्नुको अर्थ र सन्देश प्रस्ट पारे। सञ्चारकर्मीले ‘क्याप चिन्ह नै किन ?’ भन्ने प्रश्न राख्दा उनले भने, “टोपीले टाउकोको सुरक्षा गर्छ। त्यसले मानिसको मान–मर्यादा, पहिचान र सम्मान पनि झल्काउँछ। क्याप चिन्हले नागरिकको अधिकारको रक्षा गर्ने, समानता र न्यायको पक्षमा उभिने तथा समाजलाई एउटै सूत्रमा बाँध्ने विचारको प्रतिनिधित्व गर्छ भन्ने मेरो विश्वास हो।”
उनले चुनाव चिन्ह केवल प्रतीक मात्र नभई राजनीतिक दर्शन र प्रतिबद्धताको अभिव्यक्ति हुने उल्लेख गरे। “म चुनाव जित्न मात्रै होइन, नागरिकको अधिकार, न्याय र विकासका मुद्दालाई संस्थागत गर्न उम्मेदवार बनेको हुँ,” भण्डारीले भने।
अधिवक्ता भण्डारी लामो समयदेखि नुवाकोटका जनसमस्यामा सक्रिय रहँदै आएका छन्। किसानका समस्या, मजदुरका हकहित, भौतिक पूर्वाधारको अभाव, सुशासन र सामाजिक न्यायका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। विभिन्न सञ्चारमाध्यममार्फत जनताका पीडा, बेथिति र अन्यायका विषयलाई उजागर गर्दै आएको उनको भूमिकालाई स्थानीय नागरिकहरूले सकारात्मक रूपमा लिएका छन्।
उनले किसानका मल, सिँचाइ र बजार समस्यादेखि मजदुरका न्यूनतम ज्याला, सुरक्षा र रोजगारीका सवालसम्म निरन्तर बहस र अभियान सञ्चालन गर्दै आएका छन्। भण्डारीले केवल आवाज उठाउने मात्र नभई सार्थक र परिणाममुखी अभियान पनि सञ्चालन गरिरहेको स्थानीयको भनाइ छ।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका भण्डारीले नुवाकोट क्षेत्र नम्बर १ लाई न्याय, विकास र नागरिक सहभागिताको नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्। “दलभन्दा माथि उठेर जनताको पक्षमा राजनीति गर्ने समय आएको छ,” उनको भनाइ छ।
क्याप चुनाव चिन्हसँगै अधिवक्ता रामेश्वर भण्डारीको उम्मेदवारीले नुवाकोट क्षेत्र नम्बर १ को राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। स्थानीयस्तरमा उनको अभियानप्रति जनचासो बढ्दो देखिन्छ।











