
जिउँदो सहिद राजन गौतम ‘नकुल’, सहिदका सपना बोकेर संसद् पुग्ने लक्ष्य


जिउँदो सहिद राजन गौतम ‘नकुल’: सहिदका सपना बोकेर संसद् पुग्ने लक्ष्य
नेपालको इतिहासमा जनयुद्ध केवल बन्दुक र बारुदको कथा थिएन। त्यो केवल मुठभेड र गोलीको आवाज होइन, त्यो भोकले कराएका पेटहरूको कराह, नाङ्गा शरीरमाथि ओढिन खोजिएको समानताको सपना, र पुस्तौँदेखि दबाइएका मानिसहरूको अन्तिम विश्वास थियो—एक दिन न्याय आउँछ। यो युद्ध जंगल र पहाडमा मात्र लडिएको थिएन; यो हरेक गरिबको छातीभित्र, हरेक उत्पीडितको मन–मस्तिष्कमा लडिएको थियो। यही ऐतिहासिक आन्दोलनका एक सजीव पात्र हुन्— राजन गौतम ‘नकुल’।
तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको दस वर्षे जनयुद्धका क्रममा राजन गौतम ‘नकुल’ पटक–पटक मृत्युको मुखबाट फर्किए। उनी केवल लडाइँका साक्षी मात्र थिएनन्, लडाइँ स्वयं थिए। नुवाकोटको पञ्चकन्यामा भएको भीषण मुठभेडमा उनी गम्भीर घाइते भए। रगतले भिजेको शरीर बोकेर सहयोद्धाले उनलाई काँधमा उठाउँदा, बाँच्ने आशा भन्दा ठूलो थियो—आन्दोलन नटुटोस् भन्ने कामना। फेरि, हेटौंडाको पशुपतिनगरमा भएको भिडन्तमा उनी घाइते भए। गोली र छर्राले चिथोरिएको शरीरसँगै उनले त्यो रात मृत्यु र जीवनको सिमाना छामे।
कहिले जंगलको ओसिलो भुइँमा लुकेर रात बिताए, कहिले गाउँ–बस्तीमा घेराबन्दीको बीच भागे, त कहिले आफ्नै सहयोद्धाको चिसो लाससँगै उभिएर जीवनको मूल्य बुझे। गोलीको आवाजभन्दा ठूलो थियो सहयोद्धाको अन्तिम सास, र बारुदको गन्धभन्दा गहिरो थियो आमाको आँसु। यही कारणले आज पनि धेरैले उनलाई “जनयुद्धको जिउँदो सहिद” भन्छन्। किनकि उनी बाँचे, तर बाँचेका सबै क्षण सहिदकै नाममा समर्पित थिए।
तर युद्ध सकिएपछि पीडा सकिएन, झन् गहिरो भयो। बन्दुक बिसाइयो, शान्ति आयो भनियो, तर त्यो शान्ति सबैका लागि थिएन। शान्ति प्रक्रियापछि बनेको माओवादी केन्द्र क्रमशः सत्ताको वरिपरि घुम्न थाल्यो। सहिदका तस्वीरहरू मञ्चमा झुण्ड्याइए, तर सहिदका सपना निर्णय कक्षबाट हराउँदै गए। जनयुद्धका मूल्य, वर्गीय एजेन्डा र समानताको राजनीति बिस्तारै भाषण र नारामा सीमित हुन थाले।
नेतृत्वका केही अनुहारहरू सत्ता, सुविधा र सुरक्षामा रमाए। तर राजन गौतमजस्ता हजारौँ लडाकु र कार्यकर्ताको त्याग पार्टीको स्मृतिबाट मेटिँदै गयो। पञ्चकन्या र पशुपतिनगरमा घाइते भएका उनी, पटक–पटक घाइते भए पनि कहिल्यै आत्मसमर्पण गरेनन्। कसैले घाइते शरीर लिएर गाउँ फर्किए, कसैले बेरोजगारी बोकेर शहर भौतारिए, कसैले सहिदको नाममा भत्ता पाएनन्, सम्मान पाएनन्। यही बेवास्ताले राजन गौतमको मन भित्र–भित्रै भत्किँदै गयो।
यही पीडाको साझा अनुभूति माओवादी केन्द्रभित्रै पनि सल्किरहेको थियो। प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’, सुदन किराती, राम कार्की लगायत नेताहरूले प्रचण्डको कार्यशैली र पार्टीको वैचारिक दिशामा गम्भीर प्रश्न उठाए। उनीहरूको प्रश्न सरल तर पीडादायी थियो—
“के यही हो हामीले लडेको माओवादी?”
“के यही समाजवादका लागि हामीले ज्यान जोखिममा राख्यौँ?”
यही प्रश्नबाट ‘प्रगतिशील राष्ट्रिय अभियान’ जन्मियो। यो सत्ता खोस्ने षड्यन्त्र थिएन, यो आत्माको विद्रोह थियो। बन्दुक बिसाएपछि पनि सकिन नसकेको युद्ध—विचार बचाउने युद्ध। अन्ततः यो समूह प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भयो र नयाँ राजनीतिक बाटो खोज्न थाल्यो।
तर यो यात्रा एक्लो थिएन। यसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र त्यहाँबाट अलग भएका नेता–कार्यकर्ता पनि जोडिए। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विद्रोह गरेका सन्तोष परियार समेत यो यात्रामा आए। फरक पृष्ठभूमि, फरक राजनीतिक इतिहास—तर एउटै पीडा र एउटै सपना: जनताको पीडामा उभिएको समाजवाद।
यसरी जन्मियो प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)। यो कुनै पार्टी फुटेर बनेको संगठन होइन। यसको औपचारिक घोषणा २०८२ कात्तिक २८ गते भयो। यो नेसपा र प्रगतिशील राष्ट्रिय अभियानको वैचारिक एकताबाट बनेको नयाँ वामपन्थी प्रयास हो। यहाँ डा. बाबुराम भट्टराई संरक्षकको भूमिकामा छन्—विचार र अनुभवको मार्गदर्शनका लागि। पार्टी सञ्चालनका लागि सन्तोष परियार, सुदन किराती, दुर्गा सोब लगायतको अध्यक्ष परिषद् बनाइएको छ, ताकि शक्ति एक व्यक्तिमा होइन, सामूहिक नेतृत्वमा केन्द्रित होस्।
राजन गौतम ‘नकुल’ यही प्रलोपा भित्र छन्—केन्द्रीय सदस्यका रूपमा, बागमती प्रदेश समिति अध्यक्ष मण्डलको अध्यक्षका रूपमा, र नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा। उनी कुनै पार्टी छोडेर दिशाहीन बनेका नेता होइनन्। उनी पञ्चकन्या र पशुपतिनगरका घाउ बोकेर नयाँ समाजवाद खोजिरहेका योद्धा हुन्।
यो संघर्ष केवल नेपालको मात्र कथा होइन। यसको जरा विश्व इतिहाससँग जोडिएको छ। सन् १९९१ मा सोभियत संघको विघटन विश्व कम्युनिष्ट आन्दोलनका लागि ठूलो भूकम्प थियो। पश्चिमी विश्वले “इतिहासको अन्त्य” घोषणा गर्यो। लेनिनको एकदलीय शासन र केन्द्रिकृत योजनाबद्ध अर्थतन्त्र असफल भएको प्रचार गरियो। धेरै कम्युनिष्ट पार्टीहरू रक्षात्मक बने, कतिले आफ्नो नामबाट ‘कम्युनिष्ट’ शब्द नै हटाए।
तर नेपालका माओवादीहरूले यसलाई फरक ढंगले हेरे। उनीहरूले भने—सोभियत संघ ढल्यो भने त्यो समाजवादकै असफलता होइन, संशोधनवादको परिणाम हो। माओत्सेतुङको दीर्घकालीन जनयुद्ध, निरन्तर क्रान्ति र जनताद्वारा नेतामाथि निगरानीको अवधारणा नेपालजस्तो अर्ध–सामन्ती देशका लागि उपयुक्त ठानियो। यही अन्तर्राष्ट्रिय धाराबाट RIM बन्यो, र नेपालको जनयुद्ध जन्मियो।
पछि प्रचण्डले ‘२१ औँ शताब्दीको जनवाद’ को अवधारणा अघि सारे—बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद। तर समयसँगै त्यो विचार पनि सत्ताको भारले थिचिँदै गयो। यही वैचारिक विचलनविरुद्ध प्रलोपा जस्तो नयाँ प्रयास जन्मिएको हो—मार्क्सवाद, माओवाद र लोकतान्त्रिक अभ्यासको फ्युजन।
आज राजन गौतम ‘नकुल’ नुवाकोटमा उभिएर भन्छन्—
“उठ जाग हे भोका नाङ्गा,
जाग संसारका दुःखी।
अब न्यायको भेल उर्लनेछ,
अत्याचारका विरुद्ध।”
उनको आँखामा आँसु छन्, तर त्यो हारको आँसु होइन। त्यो सहिदका सपना सम्झिँदा आउने आँसु हो। यो कथा केवल एक व्यक्तिको होइन। यो ती हजारौँ योद्धाको कथा हो, जसले युद्ध जिते तर शान्तिमा हार खाए। फरक यत्ति हो—कसैले हार माने, कसैले सम्झौता गरे, तर राजन गौतम ‘नकुल’ ले हार मानेनन्।
उनी अझै हिँडिरहेका छन्—
समाजवादतर्फ।
ढिलो भए पनि, गाह्रो भए पनि,
अन्तिम आशाका रूपमा।
पञ्चकन्या र हेटौंडाको पशुपतिनगरका घाइते अनुभवले उनीलाई अझै बलियो बनाएको छ। उनी केवल नेता होइनन्, सहिदका सपना बोकेको जीवित प्रतीक हुन्।











