
नुवाकोट १ मा चुनावी सरगर्मी: प्रलोकपा नेता राजन गौतम उम्मेदवारी दर्ताको तयारीमा


नुवाकोट १ मा चुनावी सरगर्मी: प्रलोकपा नेता राजन गौतम उम्मेदवारी दर्ताको तयारीमा
नुवाकोट, माघ ४, २०८२ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नुवाकोट क्षेत्र नं. १ मा राजनीतिक माहोल ह्वात्तै गर्मिँदै गएको छ। यसै सन्दर्भमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोकपा) का बागमती प्रदेश अध्यक्ष मण्डल सदस्य राजन गौतम (नकुल) ले आफ्नो उम्मेदवारी दर्ता गर्ने अन्तिम तयारी पूरा गर्नुभएको छ।
नगर बिकास डटकमसँगको संवादमा गौतमले निर्वाचन आयोगले तोकेको मिति माघ ६ गते आफूले उम्मेदवारी दर्ता गराउने जानकारी दिनुभयो। उहाँले यसपटकको निर्वाचन नुवाकोटको समग्र विकास र राजनीतिक शुद्धीकरणका लागि निर्णायक हुने दाबी गर्नुभयो।
गौतमले आफ्नो चुनावी एजेन्डामा “समान विकास, पारदर्शी नेतृत्व” भन्ने मूल नारा अगाडि राख्दै क्षेत्रीय विकास, सुशासन र युवा स्वरोजगारलाई प्राथमिकतामा राख्नुभएको छ। उहाँले भन्नुभयो,
“हाम्रो क्षेत्रमा स्रोत र साधनको कमी छैन, कमी छ त केवल सही दृष्टिकोण र पारदर्शी नेतृत्वको। म नुवाकोट–१ का जनताको जीवनस्तर उकास्न र युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रतिबद्ध छु।”
उहाँका चुनावी प्राथमिकताहरूमा कृषि आधुनिकीकरण, व्यावसायिक प्रवर्धन, स्वास्थ्य र शिक्षामा आमूल सुधार, साथै अधुरा रहेका सडक, पुल र पूर्वाधार निर्माण रहेका छन्। त्यस्तै, नुवाकोटको ऐतिहासिक र प्राकृतिक सम्पदालाई उपयोग गर्दै पर्यटन प्रवर्धन र वातावरण संरक्षणमा पनि विशेष जोड दिने योजना गौतमले अघि सार्नुभएको छ।
विगतमा नुवाकोटमा देखिएका विभिन्न स्थानीय समस्याहरूमा गौतमले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। खानेपानीको समस्या समाधान, ग्रामीण सडक स्तरोन्नति, र गाउँस्तरमा रोजगारी सिर्जना गर्ने उहाँका पहलहरू स्थानीयले सकारात्मक रूपमा लिएका छन्। निर्वाचनको घोषणासँगै उहाँले गाउँ-गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद सुरु गरिसक्नुभएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले यो निर्वाचनलाई संगठन विस्तार र जनताको विश्वास जित्ने महत्वपूर्ण अवसर का रूपमा लिएको छ। उम्मेदवारी दर्तापछि गौतमले साना स्तरका सभाहरू, घरदैलो कार्यक्रम, र सामाजिक सञ्जाल मार्फत आफ्नो अभियानलाई अझ तीव्र बनाउने लक्ष्य राख्नुभएको छ।
क्षेत्रमा परम्परागत राजनीतिक दलहरूको प्रतिस्पर्धा पनि तीव्र देखिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (नेपाली कम्युनिस्ट पार्टी , ) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै आफ्नो संगठन बलमा प्रभाव जमाउने तयारीमा छन्। यस्ता पुराना र स्थापित राजनीतिक शक्तिहरूबीच गौतमले “समान विकास र पारदर्शी नेतृत्व” को एजेन्डा स्थापित गर्नुपर्ने चुनौतीसहित अवसर पनि पाउनु भएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोकपा) परम्परागत राजनीतिक शक्तिहरूबाट उत्पन्न निराशालाई चिर्न उदाएको वैकल्पिक शक्ति हो। यस पार्टीको गठन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, र रास्वपा समूहबाट भएको हो। पार्टीको मुख्य सिद्धान्त प्रगतिशील समाजवाद हो, जसले सुशासन र प्रत्यक्ष जनसहभागितामा जोड दिन्छ।
नुवाकोट–१ का मतदाताहरू यसपटक विकासप्रेमी र नयाँ सोच भएको नेतृत्व लाई प्राथमिकता दिने अपेक्षामा छन्।











