रमण कन्स्ट्रक्शनका सञ्चालक पवन महतो पक्राउ, ठगी र आपराधिक विश्वासघातको आरोप।

0
42

रमण कन्स्ट्रक्शनका सञ्चालक पवन महतो पक्राउ, ठगी र आपराधिक विश्वासघातको आरोप

मिति- २०८१/२/२१- जनकपुरधाम, धनुषा –  रमण कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक पवन महतोलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको सिफलचौरमा बसोबास गर्दै आएका महतो मंगलबार पक्राउ परेका हुन्। उनी   स्थानीय जनकपुरधाम उपमहानगरपालिका–१४ का स्थायी बासिन्दा हुन्।

महतोको पक्राउपछि उनलाई काठमाडौंबाट धनुषा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए। पवन महतो रमण कन्स्ट्रक्सनका एकजना सञ्चालक हुन्।

प्रहरीका अनुसार पवन महतोका बुवा बलराम महतो र उनका अर्का छोरा रमण महतोविरुद्ध पनि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी परेपछि जिल्ला अदालत धनुषाले जेठ ६ गते पक्राउ पुर्जी जारी गरेको थियो। तर, दुबै हाल फरार रहेका छन्।

मधेस सरकारसँगको संयुक्त निर्माण सम्झौता विवादमा

मधेस प्रदेश सरकारले दिगहवा–लोखरम सडक निर्माणको लागि रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिसँग संयुक्त रूपमा सम्झौता गरेको थियो। तर, आर्थिक पारदर्शिता र बैंक ग्यारेन्टीको मामिलामा विवाद उत्पन्न भएको छ।

एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले यस परियोजनाका लागि ९ करोड २१ लाख र ८ करोड ९७ लाख रुपैयाँको बैंक ग्यारेण्टी बुझाएका थिए। यता रमण कन्स्ट्रक्सनको तर्फबाट भने कुनै ग्यारेण्टी नदिइएको र आर्थिक दुरुपयोग भएको आशंका गरिएको छ।

जाँच जारी, अन्य संलग्नको खोजी

प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै अन्य संलग्नको खोजी थालेको छ। फरार रहेका बलराम महतो र रमण महतोलाई पनि चाँडै पक्राउ गरी कानुनी कारवाही अगाडि बढाउने प्रहरीको तयारी छ।

LEAVE A REPLY