पत्रकार उमेश कार्कीमाथि दुर्व्यवहार, वरिष्ठ अधिवक्ताको व्यवहार आपत्तिजनक : पत्रकार संघ।

0
13

काठमाडौं, जेठ २२ – वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारप्रति देखाएको अमर्यादित व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघले तीव्र विरोध जनाएको छ। आज नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय परिसरमा पत्रकार उमेश कार्कीमाथि थापाले क्यामेरा हटाउने शैलीमा दुर्व्यवहार गरेपछि घटनाले व्यापक चर्चा पाएको छ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि पार्टीभित्रको छलफल सकिएर बाहिर निस्कँदै गर्दा सञ्चारकर्मीहरूले प्रश्न सोधेका थिए। सोही क्रममा वरिष्ठ अधिवक्ता थापाले क्यामेरातर्फ हात हालेका थिए, जुन संघले प्रेस स्वतन्त्रता र पत्रकारको आत्मसम्मानमाथिको आक्रमणको रूपमा व्याख्या गरेको छ।

संघका महासचिव पवन फुँयालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अधिवक्ताजस्तो सम्मानित पेसामा आबद्ध व्यक्तिबाट यस्तो आक्रोशपूर्ण व्यवहार हुनु अत्यन्त निन्दनीय र अस्वीकार्य हो।” विज्ञप्तिमा घटनालाई लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसमाथि खतराका रूपमा हेरिएको उल्लेख छ।

संघले अधिवक्ता थापासँग सार्वजनिक रूपमा क्षमायाचनाको माग गर्दै, पत्रकारहरूको कार्यस्थलमा शारीरिक वा मानसिक दबाब सिर्जना गर्नु गलत परिपाटी भएको स्पष्ट पारेको छ। साथै, सत्य सूचनाको निरन्तर प्रवाहका लागि खटिने सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न राज्य, राजनीतिक दल, र सम्पूर्ण सरोकारवालाहरू सचेत रहनुपर्ने संघको भनाइ छ।

घटनालाई प्रेसको गरिमा कमजोर पार्ने दुस्साहसिक प्रयासको रूपमा लिँदै, संघले सम्पूर्ण पत्रकार समुदायलाई एकढिक्का भई यस्ता गतिविधिको प्रतिरोध गर्न आग्रह गरेको छ।

LEAVE A REPLY