
अफताबको फैसला गर्ने न्यायाधीशमाथी नेकपा (बहुमतको) कालोमोसो कारबाही ।


अफताब आलमलाई उन्मुक्ति दिने मधेस प्रदेश उच्च अदालत वीरगञ्जका न्यायाधीशमाथि नेकपा (बहुमत) का कार्यकर्ताद्वारा कालोमोसो, अदालत परिसरमा तनाव।
काठमाडौं, २०८१ जेठ ३० – रौतहट बमकाण्डका अभियुक्त सांसद तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायिक निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै मधेस प्रदेश उच्च अदालत, वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि नेकपा (बहुमत) का कार्यकर्ताहरूले कालोमोसो दलेर सार्वजनिक रूपमा कारबाही गरेका छन्।
आज बिहान करिब ११:३० बजे, काठमाडौंस्थित एक कार्यक्रममा सहभागी भइरहेका बेला न्यायाधीश थारुलाई लक्षित गर्दै कालोमोसो दलिएको हो। घटनापछि अदालत परिसरमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो।
बमकाण्ड र अदालतको फैसलापछि उठेको विवाद
२०६४ सालमा रौतहटमा भएको बम बिस्फोटमा २३ जना व्यक्तिहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरिएको अभियोगमा अफताब आलममाथि मुद्दा चलाइएको थियो। सो मुद्दामा लामो अनुसन्धानपछि मधेस प्रदेश उच्च अदालत, वीरगञ्जका न्यायाधीश खुसीराम थारुको एकल इजलासले प्रमाण अभावको आधारमा आलमलाई उन्मुक्ति दिने फैसला सुनाएको थियो।
यही फैसला न्यायमा गम्भीर आँच पुर्याएको भन्दै नेकपा (बहुमत) का कार्यकर्ताहरूले आक्रोश व्यक्त गर्दै न्यायाधीशमाथि प्रत्यक्ष कारबाही गरेका हुन्। घटनास्थलमा “हत्या गर्ने उन्मुक्त, न्यायाधीश बेपत्ता होओस्” लगायतका नाराहरू लगाइएको थियो।