
गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटको सक्रियता र पहिचानलाई प्रवर्द्धन गर्ने।


२९, जेठ, काठमाडौँ।
गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटको सक्रियता र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले गोरखा ताकुकोट सेवा समाज काठमाडौँले तेस्रो संस्करणको वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको छ।
प्रतियोगिता २०७८ सालदेखि निरन्तर हुँदै आएको हो। यस वर्षको संस्करण जेठ ३१ गते शनिबार, काठमाडौँको बालाजुस्थित ब्राइट हेभन बोर्डिङ स्कुल पछाडिको फुटसल मैदानमा हुने जानकारी आयोजकले दिएको छ।
समाजका खेल संयोजक हरिराम आले मगरका अनुसार, विभिन्न कारणले यसपटक प्रतियोगिता सामान्य ढिलाइका साथ आयोजना गर्न लागिएको हो। उनले ताकुकोटका युवा वर्गबीच खेलकुदमार्फत आपसी मेलमिलाप र सद्भाव बढाउने उद्देश्य राखिएको उल्लेख गरे।
कार्यसमिति उपाध्यक्ष राजन बाबु श्रेष्ठले प्रतियोगितामा साविक वडा स्तरका विभिन्न पुरुष टिमहरूको सहभागिता रहने जानकारी दिए। प्रतियोगिताको विजेता र उपविजेता टिमका लागि आकर्षक नगद पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको छ।
विजेता टिमले रु १५,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले रु ७,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता संयोजनमार्फत समुदायमा एकता, सहकार्य र खेल संस्कृति विकास गर्ने लक्ष्य लिएको गोरखा ताकुकोट सेवा समाज काठमाडौँले बताएको छ