
अभिव्यक्ति राख्न खोजेकी रमा बस्नेत पक्राउ, टिकटकमा युवाको स्वर दबाउने प्रयास?।


अभिव्यक्ति राख्न खोजेकी रमा बस्नेत पक्राउ, टिकटकमा युवाको स्वर दबाउने प्रयास?
असार, १काठमाडौं ।
सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै आएकी रमा बस्नेतलाई प्रहरीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ। टिकटकजस्ता डिजिटल मञ्चहरूमा सामाजिक विषयमा बोल्दै आएकी उनीमाथि “तथ्यहिन सामग्री राखेको” आरोप लगाइएको छ।
बस्नेतको स्थायी ठेगाना खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ हो। उनी टिकटकमा सामाजिक मुद्दा, सामाजिक न्याय र जनभावनासँग जोडिएका विषयमा बोल्दै आएकी थिइन्। उनका भिडियोलाई हजारौँ युवाले समर्थन गर्दै आएका थिए।
युवाको आवाज दबाउने प्रयास?
बस्नेतका समर्थकहरू भन्छन् – उनले उठाएका मुद्दाहरू असहज लागे पनि ती समाजभित्रको यथार्थ प्रतिनिधित्व गर्ने प्रयास थिए। “सत्य बोल्नेको मुख थुन्न खोजिएको हो,” सामाजिक सञ्जालमा एकजनाले लेखेका छन्।
उनका अनुसार, आलोचना गर्नु अपराध होइन, जनताको प्रश्न उठाउनु संवैधानिक अधिकार हो। अभिव्यक्तिको स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार हो भन्ने आवाज सामाजिक सञ्जालमा चर्किँदो छ।
प्रक्रियागत न्यायको माग
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। उनका समर्थकहरूले भने निष्पक्ष र प्रक्रियागत न्यायको माग गरेका छन्।
“यदि उनले गल्ती गरेकी हुन् भने कानूनी प्रक्रिया अनुसार कारबाही होस्, तर विचार राखेकै आधारमा कसैलाई अपराधी करार गर्नु गलत हो,” एक युवा अभियन्ताले बताएका छन्।
टिकटकमा सक्रिय युवा पुस्ताको प्रतिनिधि
रमा बस्नेत जस्ता युवाहरू सामाजिक सञ्जालमा आफ्ना विचार, अनुभूति र पीडालाई अभिव्यक्त गर्ने प्लेटफर्मको रूपमा टिकटक प्रयोग गर्दै आएका छन्। यस्ता माध्यमले जनमत निर्माणमा भूमिका खेल्न थालेका बेला, यस्ता गिरफ्तारीले स्वतन्त्र अभिव्यक्तिमा प्रश्न उठाउन थालेको छ।